
काठमाडौँ, २० कात्तिक: कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा युवा, जेनजी पुस्ता, महिला, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयमा सरकार सचेत रहेको बताउनुभएको छ ।
कोप-३१ को तयारी तथा नेपालको सहभागिताका विषयमा नागरिक समाजका प्रतिनिधिहरूसँग भएको छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय मञ्चमा सबै वर्ग, समुदाय र समूहको आवाज समेटिनुपर्ने बताउनुभयो ।
छलफलका क्रममा नागरिक समाजका प्रतिनिधिहरूले कोप-३१ मा युवा, जेनजी पुस्ता, महिला, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूलाई समान रूपमा सहभागी गराउनुपर्ने सुझाव दिएका थिए । जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा भोगिरहेका समुदायको सवाल र आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन सबै समुदायको अर्थपूर्ण प्रतिनिधित्व आवश्यक रहेको छलफलमा सहभागीहरूको भनाइ थियो ।
प्रतिनिधिहरूको सुझावलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनका मुद्दामा सबैको सहभागिता र प्रतिनिधित्व महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । कोप-३१ मा नेपालको सहभागितालाई समावेशी बनाउँदै प्रभावित समुदायका सवाललाई प्राथमिकताका साथ उठाउने विषयमा आफू गम्भीर रहेको उहाँले बताउनुभयो ।
छलफलमा कोप-३१ मा नेपालको प्राथमिकता, जलवायु न्याय, जलवायु वित्त, हिमाल संरक्षण तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायका मुद्दालाई अन्तरराष्ट्रिय तहमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा समेत छलफल भएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |