
रुपन्देही, १७ कात्तिकः भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व सङ्कलन गरेको हो ।
पहिलो त्रैमासका लागि सरकारले रु २९ अर्ब २८ करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले निर्धारित लक्ष्यभन्दा रु चार अर्ब छ करोड २० लाख बढी राजस्व उठाउँदै लक्ष्यको ११३ दशमलव ८६ प्रतिशत प्रगति हासिल गरेको हो ।
भन्सार प्रमुख हरिहर पौडेलका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु २७ अर्ब ७५ करोड ५३ लाख राजस्व सङ्कलन भएको थियो । गत वर्ष पहिलो तीन महिनामा लक्ष्यको ९७ दशमलव १४ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो ।
कार्यालयको तथ्याङ्कअनुसार गत साउनमा रु आठ अर्ब ८३ करोड दुई लाख राजस्व सङ्कलन भएको थियो । सो महिनाका लागि रु आठ अर्ब ५४ करोड बराबरको लक्ष्य निर्धारण गरिएको थियो । गत भदौमा रु नौ अर्ब ७६ करोड लक्ष्य रहेकामा रु १० अर्ब ६३ करोड १६ लाख राजस्व सङ्कलन भएको थियो ।
यस्तै, गत असोज महिनामा भने राजस्व सङ्कलनमा थप वृद्धि भएको थियो । सो महिनाका लागि रु १० अर्ब ९८ करोड लक्ष्य रहेकामा रु १३ अर्ब ८८ करोड सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । यो असोज महिनाको लक्ष्यको १२६ दशमलव ४१ प्रतिशत हो ।
राजस्व सङ्कलनमा भएको वृद्धिसँगै भैरहवा भन्सार नाकाबाट हुने वैदेशिक व्यापारमा विस्तार देखिएको छ । चालु आवको असोज महिनामा मात्रै रु ३८ अर्ब २१ करोड ११ लाख बराबरका वस्तु आयात भएका छन् । गत आवको असोजमा रु २३ अर्ब ३८ करोड बराबरका वस्तु आयात भएको थियो ।
त्यसैगरी, असोजमा रु चार अर्ब १५ करोड १५ लाख बराबरको माल वस्तु निर्यात भएका छन् । गत वर्षको सोही अवधिमा रु दुई अर्ब ६६ करोड बराबरको निर्यात भएको थियो ।
भन्सार राजस्वमा सवारीसाधन तथा इन्धनजन्य वस्तुको योगदान उल्लेख्य रहेको छ । मोटरसाइकल, जीप, कार तथा भ्यान, विद्युतीय कार, पिकअप गाडी, पेट्रोल, एलपी ग्यास, फलाम र मोबाइल फोन प्रमुख राजस्व योगदानकर्ता वस्तुका रूपमा रहेका छन् ।
भन्सार कार्यालयका सूचना अधिकृत उद्धव ढुङ्गानाका अनुसार गत असोज महिनामा राजस्वका आधारमा प्रमुख १० आयातीत वस्तुबाट मात्रै रु १० अर्ब ५२ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । यो अवधिको कुल राजस्वमा ती वस्तुको योगदान करिब ५३ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
निर्याततर्फ भटमासको प्रशोधित तेल प्रमुख वस्तुका रूपमा रहेको छ । यसबाहेक आल्मुनियम तथा त्यसका उत्पादन, कृत्रिम धागो, चाउचाउ, नुडल्स, पास्ता, फलाम तथा फलामका सामग्री, पशु आहारको कच्चा पदार्थ, खयर कत्था र सिमेन्ट पनि प्रमुख निर्यातीत वस्तुमा परेका छन् । पहिलो त्रैमासिक अवधिमा राजस्व सङ्कलन लक्ष्यभन्दा माथि पुग्नु र असोजमा आयात तथा निर्यात दुवै बढ्नुले भैरहवा भन्सार नाकाको व्यापारिक गतिविधि विस्तार भएको देखाएको छ ।
विशेषगरी गत असोजमा भएको राजस्व वृद्धिले समग्र त्रैमासिक उपलब्धिमा महत्वपूर्ण योगदान पुर्याएको सूचना अधिकृत ढुङ्गानाले बताउनुभयो । भन्सार प्रमुख पौडेलका अनुसार गत वर्षको तुलनामा चालु आवको तीन महिनामा राजस्व सङ्कलनमा अपेक्षित सुधार भएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |