
काठमाडौँ, १५ कात्तिकः राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागका अनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएको हो ।
सिक्टा आयोजनाले रु ५४ करोड तीन लाख लागत अनुमानका चार वटा बोलपत्र आह्वान गरिसकेको छ । पुस मसान्तसम्म रु दुई अर्ब ४८ करोड ३० लाख बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य आयोजनाले राखेको छ । बबई आयोजनाले पनि पुस मसान्तसम्म ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताउनुभयो ।
रानी जमराको भौतिक प्रगति १५ प्रतिशत पुग्यो
विभागका अनुसार रानी जमरा कुलरिया सिँचाइ आयोजना, टिकापुर (कैलाली) ले रु एक अर्ब ३३ करोड ३५ लाख लागत अनुमानका ६ वटा बोलपत्र आह्वान गरेको छ । आयोजनाको भौतिक प्रगति साउनमा आठ प्रतिशत रहेकामा भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति पनि सोही अवधिमा ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ । आयोजनाले पुस मसान्तसम्म रु दुई अर्ब ३० करोड बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध बनाउने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाले पुस मसान्तसम्म रु ६१ करोड बराबरका चार वटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ । सुनकोशी मरिन डाइभर्सन आयोजनामा भने पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ र ६.१८ किलोमिटर तटबन्धको लक्ष्य राखिएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |