
भद्रपुर (झापा), १२ कात्तिकः झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासनले सुरक्षा कार्ययोजनाको पुनरावलोकन सुरु गरेको छ ।
यही कात्तिक ३ गते जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएपछि प्रशासनले कार्ययोजनाको प्रभावकारिता समीक्षा गर्न थालेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अग्रसरतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवाला निकायका पदाधिकारीबीचको छलफलमा हालसम्मका प्रयास, तिनको प्रभावकारिता र आगामी रणनीतिबारे समीक्षा गरिएको हो ।
छलफलमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटी झापाका प्रतिनिधि तथा डिभिजन वन कार्यालयका अधिकृतको सहभागिता थियो । डिभिजन वन कार्यालयका तर्फबाट वन अधिकृत हिमाल पाठकले जिल्लामा मानव–हात्ती द्वन्द्वको पछिल्लो अवस्था र न्यूनीकरणका लागि भइरहेका प्रयासबारे जानकारी गराउनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले मानव र वन्यजन्तु दुवैको अस्तित्व संरक्षण गर्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सावधानीका उपायलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले हालको कार्ययोजना र सरोकारवाला निकायको भूमिकाको समीक्षा गरी प्राप्त सुझावका आधारमा रणनीति परिमार्जन गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा सरकारी निकाय र सुरक्षा संयन्त्रसँग समीक्षा गरिएको छ । दोस्रो चरणमा स्थानीय तह, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय समुदाय, सामाजिक संस्था, नागरिक समाज तथा सञ्चारकर्मीसँग छलफल गरी कार्ययोजनालाई थप नतिजामुखी बनाइनेछ ।
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार झापामा पछिल्लो २० वर्षमा हात्तीको आक्रमणबाट ७० जना नेपाली तथा १० विदेशी नागरिकको मृत्यु भएको छ । सोही अवधिमा २८ वटा हात्तीको मृत्यु भएको छ । जिल्लामा वन क्षेत्र, नदी करिडोर, कृषि क्षेत्र र मानव बस्ती हात्तीको विचरण क्षेत्रसँग जोडिएकाले द्वन्द्व न्यूनीकरण चुनौतीपूर्ण बन्दै आएको छ ।
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने, सामुदायिक वनका हेरालुलाई सक्रिय बनाउने तथा साइरनलगायतका उपकरण दुरुस्त राख्ने विषयलाई प्राथमिकता दिइएको छ । वन क्षेत्रमा हात्तीका लागि आहारा र पानीका स्रोतको संरक्षण, जैविक मार्गको व्यवस्थापन तथा सौर्य विद्युतीय तारबारको मर्मतसम्भारलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |