
राँझा (बाँके), ८ कात्तिकः बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै समय आफ्नो गाउँभरि खसीबाख्राको बथान देखेको सम्झना ताजै छ । तर, अहिले सिङ्गो गाउँभरि खोज्दा पनि १०० वटा बाख्रा पुर्याउन मुस्किल पर्छ ।
कोहलपुर–७ वनखेतका युवराज गिरीको व्यथा पनि बम्बबहादुरकोभन्दा फरक छैन । व्यावसायिक रूपमा पशुपालन गर्दै आएका उनीहरू अहिले दाना र घाँसको अकासिँदो मूल्य अनि पशु चराउने सुरक्षित चरन क्षेत्रको अभावका कारण व्यवसाय छाड्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन् ।
भौगोलिक दृष्टिले बाँके जिल्ला पशुपालनका लागि निकै सम्भावनायुक्त मानिन्छ । तर, यहाँका बहुसङ्ख्यक ग्रामीण बस्ती राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन, सामुदायिक वन र जैविक मार्ग (करिडोर) आसपास जोडिएका छन् । पुस्तौँदेखि वनजङ्गलमै निर्भर रहेर पशुपालन गर्दै आएका स्थानीय समुदायका लागि पछिल्लो समय वन्यजन्तुको बढ्दो जोखिम र चरन क्षेत्रमा लगाइएको प्रतिबन्ध नै जीविकोपार्जनको ठूलो बाधक बनेको सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेश सदस्य महेन्द्र शाहीले बताउनुभयो ।
उहाँका अनुसार, राष्ट्रिय वन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक वन्यजन्तुको त्रासका कारण किसान पशु चराउन जङ्गल जान डराउँछन् । अर्कोतर्फ, जङ्गल जोगाउने नाममा विभिन्न सामुदायिक वनले चरिचरण तथा वन प्रवेशमा कडा प्रतिबन्ध लगाएका छन् । यसले गर्दा किसानले परम्परागत रूपमा प्रयोग गर्दै आएका चरन क्षेत्र गुमाएका छन् ।
यसको सोझो असर बाख्रापालनमा परेको छ । हिजोसम्म जङ्गल आसपास पशु चराउने र घाँस सङ्कलन गर्ने किसान आज घरमै घाँसखेती गर्न वा बजारबाट महँगो दाना किनेर खुवाउन बाध्य छन् । ठूलो सङ्ख्यामा बाख्रा पाल्दै आएका साना र मध्यम किसानका लागि यो अतिरिक्त खर्च धान्नै नसक्ने भइसकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका किसान बम्बबहादुर पुनले बताउनुभयो ।
“वन संरक्षणका लागि चरिचरण नियन्त्रण आवश्यक छ भने, त्यसबाट प्रभावित किसानका लागि वैकल्पिक चरन र घाँसको व्यवस्था कसले गरिदिने ?”, उहाँले भन्नुभयो, “यो प्रश्न अहिले बाँकेका वन आसपासका पशुपालक किसानको सामूहिक चिन्ता बनेको छ ।”
भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेका सूचना अधिकारी भोजबहादुर रावलले बाँकेमा पशुपालक किसानको मेहनतका कारण मासुमा आत्मनिर्भर भएको बताउनुभयो । उहाँले बाख्रापालन व्यवसाय सङ्कटमा पर्दा मासु उत्पादनमासमेत असर पर्ने उल्लेख गर्नुभयो ।
उहाँका अनुसार मानव–वन्यजन्तु द्वन्द्व घटाउन र किसानलाई राहत दिन केही क्षेत्रमा वैकल्पिक कार्यक्रम सञ्चालन भएका छन् । मध्यवर्ती क्षेत्रका बासिन्दाले सामुदायिक वनका खाली जमिनमा घाँस रोप्ने प्रयास गरेका छन् । त्यसैगरी, राप्तीसोनारी र कम्दी जैविक मार्ग क्षेत्रमा पशुधनलाई वन्यजन्तुबाट जोगाउन १९१ वटा सुरक्षित गोठ निर्माण गरिएका छन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |