
दमौली (तनहुँ), ८ कात्तिक : तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका तरकारी र धान जोनमार्फत खेतीको क्षेत्रफल बढ्नुका साथै हजारौँ किसान लाभान्वित भएका छन् ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई गोरखाका वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुङ्गानाका अनुसार तनहुँमा तरकारी जोन सुरु भएयता दुई सय १८ हेक्टर र धान जोन सुरु भएयता ८५ हेक्टर क्षेत्रफल वृद्धि भएको छ ।
तनहुँमा आर्थिक वर्ष २०७५/७६ देखि तरकारी जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवातमा पाँच सय पाँच हेक्टर क्षेत्रफलमा सञ्चालन भएको तरकारी जोन अहिले विस्तार भएर सात सय २३ हेक्टर पुगेको छ । यस अवधिमा तरकारी खेतीको क्षेत्रफल दुई सय १८ हेक्टरले बढेको हो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० देखि धान जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवातमा पाँच सय हेक्टर क्षेत्रफलमा रहेको धान जोन अहिले विस्तार भएर पाँच सय ८५ हेक्टर पुगेको छ । धान खेतीको क्षेत्रफल पनि ८५ हेक्टरले वृद्धि भएको छ ।
तरकारी तथा धान खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउने उद्धेश्यले सञ्चालन गरिएका यी कार्यक्रमले खेतीको क्षेत्रफल विस्तार गर्न सहयोग पु¥याएको ढुङ्गानाले बताउनुभयो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा तरकारी जोन कार्यक्रम सञ्चालन भइरहेको छ । यी क्षेत्रमा तरकारी उत्पादनलाई व्यवस्थित गर्दै व्यावसायिक खेतीको क्षेत्र विस्तार गर्ने उद्धेश्यले कार्यक्रम कार्यान्वयन गरिएको हो ।
तरकारी जोनअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र ११ कृषि उद्यमीमार्फत कार्यक्रम सञ्चालन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो । यस जोनबाट हालसम्म एक हजार ९८९ जना लाभान्वित भएका छन् ।
किसान, सहकारी, समूह तथा कृषि उद्यमीलाई समेटेर कार्यक्रम सञ्चालन गर्दा उत्पादनलाई व्यावसायिक स्वरूप दिन र कृषि क्षेत्रमा आबद्ध जनशक्तिलाई सङ्गठित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
धान जोन कार्यक्रम तनहुँको व्यास नगरपालिका–८, ९ र ११, भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिका–१ मा सञ्चालन भइरहेको छ । धान उत्पादनको क्षेत्र विस्तार तथा खेतीलाई व्यावसायिक बनाउने उद्धेश्यले कार्यक्रम कार्यान्वयन गरिएको हो ।
धान जोनअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र १० कृषि उद्यमीमार्फत कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रमबाट एक हजार ८३८ जना लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०७९/८० मा पाँच सय हेक्टर क्षेत्रफलबाट सुरु भएको धान जोन अहिले पाँच सय ८५ हेक्टरमा विस्तार भएको छ । तरकारी र धान जोन कार्यक्रमबाट तनहुँमा कुल तीन हजार आठ सय २७ जना लाभान्वित भएका छन् । तीमध्ये तरकारी जोनबाट एक हजार एक सय ८९ र धान जोनबाट एक हजार आठ सय ३८ जना लाभान्वित भएका छन् ।
दुवै कार्यक्रममार्फत खेतीको क्षेत्रफल विस्तार हुनुका साथै सहकारी, कृषक समूह र कृषि उद्यमीको सहभागितामा कृषि गतिविधि सञ्चालन भइरहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |