Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

राप्ती नगरपालिका–११ को बेलडाँडा पुग्दा सडकमा खसेको पहिरोले बाटो छेकेको थियो । पहिरो पन्छाएर मोटर गुड्ने बाटो बनाउने
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (१ घण्टा अघि)
आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

नारायणगढ (चितवन), १९ असोजः राप्ती नगरपालिका–११ को बेलडाँडा पुग्दा सडकमा खसेको पहिरोले बाटो छेकेको थियो । पहिरो पन्छाएर मोटर गुड्ने बाटो बनाउने प्रयास भइरहेको थियो । एकातिर भिर, अर्कोतिर लोथर खोला । पहिरोले सडकको भाग बगाएको ठाउँबाट पारि जानुपर्ने अवस्था थियो । तल हेर्दा करिब ५०० मिटरभन्दा बढी छाँगाछुर भिर देखिन्थ्यो ।

न समाउने ठाउँ थियो, न टेक्ने भरपर्दो आधार । तल लोथर खोला सुसाइरहेको थियो । त्यही जोखिमपूर्ण बाटोबाट स्थानीय बासिन्दा वारपार गरिरहेका थिए । राप्ती नगरपालिका–१२ र १३ मा नागरिकता वितरण गर्न गएको जिल्ला प्रशासन कार्यालयको टोली पनि त्यही बाटो हुँदै अघि बढिरहेको थियो । टोलीमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादव, अनुसन्धान कार्यालयका प्रमुख सुरेश तिवारी तथा प्रशासन, निर्वाचनका कर्मचारी, सुरक्षाकर्मी र पत्रकार पनि हुनुहुन्थ्यो । आघिबाटौ पुग्दै गर्दा पहिरो र भिरको अवस्था देख्दा सबैको ध्यान त्यहीँ केन्द्रित थियो ।

नागरिकता बाँड्न गाउँतर्फ गएको टोलीका लागि त्यो बाटो केहीबेरको जोखिम थियो । तर त्यही बाटो स्थानीयका लागि दैनिक जीवनको हिस्सा थियो । बिरामी हुँदा यही बाटोबाट स्वास्थ्य संस्था पुग्नुपर्छ । सरकारी कामका लागि यही बाटो पार गर्नुपर्छ । बजार जान पनि यही बाटो । आफ्ना बालबालिकालाई विद्यालय पठाउन पनि यही भूगोल पार गर्नुपर्छ । त्यसैले नागरिकता लिन उनीहरू वर्षौँसम्म सदरमुकामसम्म पुग्न नसक्नुको एउटा कारण यस्तै र त्यो बाटो पनि थियो ।

राप्ती नगरपालिका–१३ कालिटारवारीसम्म पुग्न यात्रा सुरु भएपछि बाटोमा दर्जनौँपटक गाडी उकालो–ओरालो गर्नुपर्छ । कतै सडक साँघुरो छ, कतै पहिरो खसेको छ । कतै सडकको भाग बगाएको छ । कतै मोटर गुड्ने बाटो भए पनि पैदल हिँड्नसमेत कठिन देखिन्छ । भण्डाराबाट माथि लागेपछि भूगोल क्रमशः विकट हुँदै जान्छ । सडकको ट्र्याक खुलेको छ, तर वर्षात्को समयमा पहिरोले बाटो अवरुद्ध हुन्छ । कतिपय स्थानमा सडकभन्दा पहिरोको प्रभाव ठूलो देखिन्छ ।

यात्राका क्रममा कतिपय ठाउँमा विद्युत्का पोल देखिए तर पोल भए पनि तार नपुगेको ठाउँ भेटिन्छ । कतै विद्युत् लाइन पुगे पनि नियमित आपूर्तिको समस्या छ । मोटरबाटो खुलेको छ, तर त्यसमा सहज रूपमा हिँड्न वा सवारी चलाउन सकिने अवस्था छैन । यस्तो दृश्यले विकासका केही संरचना पुगे पनि तिनको पूर्ण उपयोग गर्न सक्ने अवस्था अझै बनिनसकेको देखाउँथ्यो ।

राप्ती नगरपालिका नामले नगरपालिका हो तर यसको माथिल्लो भेगमा पुग्दा राज्यका आधारभूत सेवा र सुविधासम्मको पहुँच अझै चुनौतीपूर्ण देखिन्छ । स्वास्थ्य चौकीको पहुँच, सडकको अवस्था, विद्युत् र सरकारी सेवा लिनुपर्ने नागरिकको बाध्यता सबै कुरा त्यहाँको भौगोलिक विकटतासँग जोडिएको छ । यही भूगोलमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरणको कार्यक्रम राखेको थियो ।

बहत्तर वर्षमा बल्ल नागरिकता

राप्ती–१३ की विष्णुमाया प्रजा ७२ वर्ष पुग्नुभयो । जीवनको ठूलो हिस्सा उहाँले कुनै औपचारिक कागजी परिचयबिनै बिताउनुभयो । नागरिकता के हो, यसले के काम गर्छ भन्नेबारे पनि उहाँलाई राम्रो जानकारी थिएन । जिल्ला प्रशासन कार्यालयको टोली गाउँमै पुगेपछि उहाँले नागरिकता प्राप्त गर्नुभयो । नागरिकता हातमा पाएपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अब उहाँले मासिक रु चार हजार सामाजिक सुरक्षा भत्ता पाउने बताउनुभयो । तर प्रजिअ अर्यालले भनेको कुरा विष्णुमायाले तत्काल बुझ्नुभएन । उहाँले ‘हँ…हँ’ मात्र गर्नुभयो ।

त्यसपछि राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले उहाँकै भाषामा सम्झाउनुभयो । “तपाईं अब ७२ वर्ष पुग्नुभयो । यो नागरिकता हो । अब बैंकमा खाता खोल्न मिल्छ । खाता खोलेपछि तीन महिनामा रु १२ हजारका दरले सामाजिक सुरक्षा भत्ता आउँछ”, उहाँले बुझाउनुभयो । वडाध्यक्षको कुरा बुझेपछि विष्णुमायाको मुहारमा चमक आयो । नागरिकताको महत्व बल्ल बुझे झैँ उहाँ खुसी देखिनुभयो । तर बैंकमा खाता कसरी खोल्ने, त्यसपछि के प्रक्रिया पूरा गर्ने भन्ने विषयमा भने उहाँ अझै अलमलमा हुनुहुन्थ्यो । वडाध्यक्षले सबै प्रक्रियामा सहयोग गर्ने बताएपछि उहाँ ढुक्क हुनुभयो ।

उहाँले भन्नुभयो, “परिवारमा छोराहरूको त थियो, मेरो नागरिकता बनाउनुपर्छ भन्ने नै लागेन । अब बन्यो, भत्ता पनि आउँछ रे, खुसी लाग्यो ।” विष्णुमायाजस्तै राप्ती–१३ का ८४ जना नागरिकताविहीन व्यक्तिले त्यस दिन नागरिकता पाए । तीमध्ये ज्येष्ठ नागरिक र महिलाको सङ्ख्या उल्लेख्य रहेको वडाध्यक्ष प्रजाले बताउनुभयो । नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालयको टोली गाउँमै पुग्नुको मुख्य कारण नागरिकता बनाउन सदरमुकामसम्म आउन नसकेका नागरिकलाई सेवा दिनु थियो ।

नागरिकता बनाउन आवश्यक कागजात, प्रक्रिया र कार्यालयसम्मको पहुँचको जानकारी नहुँदा कतिपय नागरिक वर्षौँसम्म नागरिकता लिनबाट बञ्चित थिए । कतिपय ज्येष्ठ नागरिक थिए । कतिपय शारीरिक रूपमा अशक्त थिए । कसैका सन्तानको नागरिकता बनाउनसमेत अभिभावकले समस्या भोगिरहेका थिए ।

जिल्ला प्रशासन कार्यालयकी नागरिकता फाँटकी प्रशासकीय अधिकृत अन्तिम सिजाली मगरका लागि पनि यो यात्रा विशेष रह्यो । उहाँ राप्तीमै हुर्कनुभएको हो तर चितवनमै यति विकट भूगोल रहेछ भन्ने कुरा यसपटक स्थलगत रूपमा पुगेपछि थप अनुभूति भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राप्तीको माथिल्लो भेग नेपालको कर्णाली भन्थे हो कर्णालीजस्तै विकट रहेछ । यहाँ आएर मात्र यसको वास्तविकता नजिकबाट बुझ्न पाएँ । ”

यहाँका प्रजा समुदायको जीवनस्तर हेर्दा सामान्य सरकारी सेवा लिन पनि निकै कठिन रहेको उहाँको अनुभव छ । “यहाँको पीडा आफ्नै आँखाले देख्न पाएँ । नागरिकता बनाउनसमेत मानिसले यति धेरै दुःख गर्नुपर्दो रहेछ । यहाँका नागरिकको नागरिकतामा आफ्नै हातले हस्ताक्षर गरेर नागरिकता बाँड्न पाउँदा निकै गौरवान्वित भएको छु”, उहाँले भन्नुभयो ।

अपाङ्ग छोरालाई बोकेर नागरिकता बनाउन

नागरिकता बनाउने उमेर पुगे पनि अपाङ्ग छोराको नागरिकता बनाउन नसक्दाको पीडा भोगिरहेका भीमबहादुर प्रजाका लागि गाउँमै पुगेको टोली अर्को अवसर बन्यो । उहाँ आफैँ असक्त हुनुहुन्छ । त्यसमाथि अपाङ्ग छोरालाई बोकेर सदरमुकामसम्म पुग्नु सहज थिएन । त्यसैले छोरा बोकेर उहाँ वडा कार्यालय पुग्नुभयो । आफ्नो शरीरमा रहेको असक्तताभन्दा ठूलो चिन्ता छोराको नागरिकता बनाउने थियो । छोरा बोकेर वडा कार्यालयसम्म पुग्दा उहाँले भोगेको कठिनाइ देखिन्थ्यो ।

वडा कार्यालयमै नागरिकता र मतदाता परिचयपत्रका लागि फोटो खिचाउन सक्ने भएपछि उहाँको अनुहारमा राहत देखियो । उहाँले भन्नुभयो, “सदरमुकाम जाने अवस्था छैन । अपाङ्ग छोरा बोकेर हिँड्न सक्ने अवस्था पनि छैन । गाउँमै नागरिकता पाउँदा पीडा हलुका भएको ।” नजिकै रहेका प्रजिअ अर्याललाई धन्यवाद दिँदै गर्दा उहाँले लामो समयदेखि बोकेको चिन्ता केही कम भएको अनुभूति गरिरहनुभएको थियो ।

तीन घण्टा पैदल हिँडेर वडामा

आफ्नी बुहारी सविता र छोरा रावणको नागरिकता बनाउन सिताबहादुर प्रजा कान्दाबाट वडा कार्यालयसम्म करिब तीन घण्टा पैदल हिँडेर आउनुभयो । नागरिकता चाहिन्छ भन्ने कुरा उहाँलाई थाहा थियो तर नागरिकता बनाउन कहाँ जाने, कसलाई भेट्ने, फोटो कहाँ खिच्ने र कागजातको प्रक्रिया कसरी पूरा गर्ने भन्ने जानकारी भए पनि उहाँलाई यो काम निकै चुनौतीपूर्ण थियो । घरबाट भरतपुरसम्म पुग्न समय लाग्ने मात्र होइन, आर्थिक भार पनि पर्ने भएकाले गाउँमै नागरिकता बनाउन पाउँदा उहाँ खुसी हुनुभयो । “नागरिकता बनाउन भरतपुरसम्म जानुपरेको भए धेरै खर्च हुन्थ्यो । यहाँ नै बनाउन पाउँदा सजिलो भयो”, उहाँले भनन्ुभयो ।

नागरिकता वितरणसँगै जिल्ला निर्वाचन कार्यालयको टोली पनि पुगेको थियो । त्यसैले उहाँले छोरा र बुहारीको मतदाता परिचयपत्रका लागि आवश्यक फोटो खिचाउने अवसरसमेत पाउनुभयो । नागरिकता पाएपछि मतदाता परिचयपत्रका लागि फोटो खिचाउन पाउँदा उहाँको खुसी थपियो । “नागरिकता त पायौँ, झन् मतदाता परिचयपत्रको नम्बरसमेत पाएपछि सुखै सुख भयो”, उहाँले भन्नुभयो । त्यस्तै राप्ती–१२ का बाबुलाल प्रजाले २७ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभयो ।

राप्ती–१३ को तुलनामा वडा नं १२ केही सहज मानिए पनि सरकारी कार्यालयमा पुगेर नागरिकता बनाउने प्रक्रिया उहाँका लागि सहज थिएन । “प्रशासनमा गएर के भन्ने, कसलाई भेट्ने, कहाँ फोटो खिच्ने भन्ने पनि थाहा थिएन । यहाँ सबै सरहरूले सहयोग गर्नुभयो । त्यसैले नागरिकता बनाउन निकै सजिलो भयो”, उहाँले भन्नुभयो । नागरिकता पाएपछि सरकारी काम गर्न सजिलो हुने र मतदाता परिचयपत्र पाएपछि मतदान गर्न पाउनेमा उहाँ खुसी हुनुहुन्थ्यो । राप्ती–१२ बाट पनि २८ जनाले सोही दिन नागरिकता प्राप्त गरेका छन् ।

बाटोमै नागरिकता

राप्ती–१३ मा नागरिकता वितरण गरेर टोली फर्किंदै थियो । दिन ढलिसकेको थियो । त्यही क्रममा दुई महिला हस्याङफस्याङ गर्दै नागरिकता बनाउन आइरहेका थिए । प्रजिअ अर्यालले सोध्नुभयो । उनीहरूले घरको काम सकेर आउँदा ढिलो भएको बताए । टोली वडा कार्यालयबाट हिँडिसकेको थाहा पाएपछि उनीहरू हतारिँदै आएका थिए । उनीहरू साना बच्चा बोकेर आएका थिए । वडा कार्यालयसम्म पुग्न उनीहरूलाई करिब दुई घण्टा लाग्ने रहेछ । टोली फर्किसकेको भए पनि उनीहरूलाई त्यसै फर्काउने अवस्था थिएन । त्यसैले प्रजिअ अर्यालले बाटोमै नागरिकता बनाउने व्यवस्था मिलाउनुभयो ।

झोलुङ्गे पुलको मुखमा बसेर ल्यापटपबाट विवरण तयार गरियो । आवश्यक प्रक्रिया पूरा गरियो । हस्ताक्षर गराइयो । र, त्यहीँ उनीहरूको हातमा नागरिकता पुग्यो । प्रजिअ अर्यालका लागि त्यो क्षण सामान्य प्रशासनिक कामभन्दा फरक थियो । कालीटारमा ८४ जनालाई नागरिकता दिएर फर्किने क्रममा झोलुङ्गे पुलमा ती महिला भेटिएको उहाँले बताउनुभयो ।

नागरिकतासँगै मतदाता परिचयपत्र

नागरिकता वितरण गर्न प्रशासनको टोलीसँगै जिल्ला निर्वाचन कार्यालय चितवनको टोली पनि राप्ती पुगेको थियो । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार वडा नं १३ मा नागरिकता प्राप्त गर्ने सबै मतदाताको मतदाता परिचयपत्र बनाउने काम पनि गरिएको थियो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयको टोली राप्तीको विकट क्षेत्रमा नागरिकता वितरण गर्न जाने जानकारी पाएपछि हामी पनि सँगै गएका थियौँ । वडा नं १३ मा नागरिकता वितरण भएका सबै मतदाताको मतदाता परिचयपत्र बनाउने काम गरियो ।” यस क्रममा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा आउन नसकेका चार जनाको पहिले नै नागरिकता बनेको भए पनि मतदाता परिचयपत्र बन्न बाँकी रहेकाले उनीहरूको पनि आवश्यक प्रक्रिया पूरा गरिएको उहाँले बताउनुभयो ।

राप्ती–१२ मा भने समय ढिलो भएको, विद्युत् नभएको तथा प्रिन्टरलगायत उपकरण व्यवस्थापनमा समस्या आएका कारण केही प्राविधिक कठिनाइ भएको उहाँले जानकारी दिनुभयो । सानो बच्चा भएकी एक महिलालाई जिल्ला प्रशासन कार्यालयसम्म आउन सम्भव नभएकाले मोबाइल प्रविधिको प्रयोग गरी वडा नम्बर १२ मै मतदाता परिचयपत्र बनाइएको उहाँले बताउनुभयो । यसरी नागरिकता र मतदाता परिचयपत्रको सेवा एकै ठाउँबाट पाउँदा स्थानीयलाई सदरमुकामसम्म दोहो¥याएर धाउनुपर्ने अवस्था घटेको थियो ।

पहिले ओडारमा बस्थे, अहिले जस्ताको घरमा

बीस वर्षदेखि चेपाङ समुदायको उत्थानमा काम गर्दै आउनुभएका समाजसेवी एवं पत्रकार केपी किरण शर्माले विगतको तुलनामा राप्तीको माथिल्लो क्षेत्रमा धेरै परिवर्तन आएको बताउनुभयो । उहाँका अनुसार पहिले भण्डाराबाट लोथर खोलैखोला हिँडेर माथिल्लो क्षेत्रसम्म पुग्नुपथ्र्यो । अहिले बुलेरो गाडीमा पुग्न सकिने अवस्था बनेपछि यहाँका मानिसको मुहारमा खुसी ल्याएको छ तर सडक पुगे पनि त्यसको नियमित र भरपर्दो सञ्चालनका लागि थप सुधार आवश्यक रहेको उहाँको भनाइ छ । यहाँ उत्पादन भएका तरकारीलगायत कृषि उपज बजारसम्म पु¥याउन अझै कठिनाइ रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका उत्पादन बजारसम्म लैजान आज पनि समस्या छ । सडक राम्रो बन्नसके चेपाङ समुदायको आर्थिक विकासमा सहयोग पुग्छ ।” चेपाङ समुदायसँग लामो समयदेखि काम गरेको स्मरण गर्दै शर्माले विगतमा ओडारमा बस्ने र गिठा–भ्याकुर खाने अवस्थाबाट अहिले जस्ताको घरमा बस्ने र कठिनाइका बीच भए पनि भात खान सक्ने अवस्थासम्म आइपुगेको बताउनुभयो ।

राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाका अनुसार वडाले नागरिकता बनाउन बाँकी नागरिकको विवरण गाउँगाउँबाट सङ्कलन गरेको थियो । नागरिकको पारिवारिक विवरण, आवश्यक प्रमाण र कागजात सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयमा पठाएपछि नागरिकता वितरणका लागि टोली गाउँमै आउने वातावरण बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँगाउँबाट नागरिकको विवरण सङ्कलन गरेर आवश्यक प्रमाण जुटायौँ । जिल्ला प्रशासन कार्यालयमा पठाएपछि नागरिकता बनाउन टोली गाउँमै आयो ।” वडामा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक नागरिकताविहीन नागरिक पनि उल्लेख्य रहेको उहाँले बताउनुभयो ।

आफू वडाध्यक्ष भएर निर्वाचित हुनुको उद्देश्य नै स्थानीय नागरिकको सेवा गर्नु भएकाले नागरिकता वितरणमा सहजीकरण गर्नु आफ्नो कर्तव्य भएको उहाँको भनाइ छ । “नागरिकता नभएकै कारण सरकारी सेवा–सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था छ । नागरिकता पाएपछि उहाँहरूलाई धेरै सेवा लिन सहज हुन्छ”, उहाँले भन्नुभयो ।

सनद अधिकारी/रासस

  • चितवन
  • नारायणगढ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • Post Thumbnail

    चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

    Post Thumbnail

    एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट टोली

    Post Thumbnail

    सीप सिकाउँदै, उद्यमी बनाइँदै

    Post Thumbnail

    बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution