
रुपन्देही, १८ असोजः बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तरराष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । उपाधिसँगै पुलिसले रु सात लाख पुरस्कार प्राप्त गरेको छ ।
शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब सङ्खुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । भारतीय खेलाडीको साथ पाएको सभापोखरीविरुद्ध पुलिसले उत्कृष्ट प्रदर्शन गरेको थियो । लिग चरणदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएको सभापोखरी फाइनलमा भने पुलिससँग पराजित भयो ।
उपविजेता सभापोखरीले रु तीन लाख ५० हजार पुरस्कार प्राप्त गर्यो । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लब तेस्रो भयो । तेस्रो स्थानका लागि भएको खेलमा एपिएफले खैरा भलिबल क्लब पञ्जाबलाई ३–१ को सेटमा पराजित गर्यो । तेस्रो भएको एपिएफले रु एक लाख ७५ हजार तथा चौथो भएको खैरा क्लबले रु ७५ हजार सान्त्वना पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका पहल गहतराज घोषित भए । उनले रु १५ हजार पुरस्कार प्राप्त गरे । विधागततर्फ एपिएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर र रेशम छन्त्याल उत्कृष्ट सर्भर, सभापोखरीका सिभानसेन भी उत्कृष्ट ब्लकर, सन्तोष राई उत्कृष्ट डिफेन्डर तथा पुलिसका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फका उत्कृष्ट खेलाडीले जनही रु आठ हजार प्राप्त गरे ।
पुरस्कार वितरण कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री रामजी घिमिरेले प्रतियोगितामा सहभागी खेलाडी तथा विजेता टोलीलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले खेल क्षेत्रको विकासले देशको समग्र विकासमा योगदान पुर्याउने बताउनुभयो ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले प्रतियोगिताले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीबीच प्रतिस्पर्धाको अवसर सृजना गरेको बताउनुभयो । यही असोज १२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालका चार तथा विदेशका तीन गरी सात टोलीको सहभागिता रहेको थियो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |