Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अन्तर्वार्ताः युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार

रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १४, बुधबार (१ दिन अघि)
अन्तर्वार्ताः युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार

काठमाडौँ, १४ असोज : नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ । विशेषगरी जीवनशैलीमा आएको परिवर्तन, अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान तथा तनावजस्ता कारणले कोरोनरी मुटुरोगको जोखिम बढिरहेको चिकित्सकहरू बताउँछन् । चिन्ताको विषय त झन् कम उमेरमै मुटुरोग र हृदयघातका घटना देखिनु हो ।

मुटुरोगका जोखिम र लक्षणबारे समयमै जानकारी लिनु तथा नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउनु यसको रोकथामका लागि महत्वपूर्ण मानिन्छ । प्रस्तुत छ, मुटुरोगको अवस्था, युवा उमेरमै यसको जोखिम बढ्नुका कारण, सुरुआती लक्षण, उपचारमा पहुँच तथा रोकथामका उपायलगायत विषयमा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत वरिष्ठ हृदयरोग विशेषज्ञ डा. विनयकुमार रौनियारसँग राष्ट्रिय समाचार समिति (रासस) का लागि स्थानीय समाचारदाता लोकेश धामीले गर्नुभएको कुराकानीको सम्पादित अंशः

नेपालमा हाल मुटुरोगको अवस्था कस्तो छ ?

मुटुमा विभिन्न प्रकारका रोग हुन्छन् । मुटुको बाथरोग, जन्मजात मुटुरोग, कोरोनरी मुटुरोग र मुटुको धड्कनसम्बन्धी रोग प्रमुख हुन् । अहिले नेपालमा मुटुको बाथरोग घट्दो क्रममा छ तर कोरोनरी मुटुरोग भने बढिरहेको छ । यसका प्रमुख कारण जीवनशैलीमा आएको परिवर्तन हो । उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, तनाव र व्यायामको कमीले कोरोनरी मुटुरोगको जोखिम बढाउँछ । नेपालमा यसको अर्को चिन्ताजनक पक्ष भनेको कम उमेरमै रोग देखिनु हो । पश्चिमी देशमा सामान्यतः वृद्ध अवस्थामा देखिने यो रोग नेपालमा ३०–४० वर्षकै उमेरमा देखिन थालेको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पनि यस्ता बिरामीको सङ्ख्या बढिरहेको छ ।

युवा उमेरमै कोरोनरी मुटुरोग देखिनुको मुख्य कारण के हो ?

कोरोनरी मुटुरोगको भयावह रूप हृदयघात हो । कहिलेकाहीँ अचानक मुटुको धड्कन बन्द हुने अवस्था पनि आउन सक्छ । मानिस बोलिरहेको, काम गरिरहेको वा व्यायाम गरिरहेका अवस्थामा एक्कासी ढलेका घटना हामीले सुन्ने र देख्ने गरेका छौँ । कहिलेकाहीँ कुनै स्पष्ट चेतावनीबिना पनि कोरोनरी मुटुरोग गम्भीर रूपमा देखिन सक्छ । यसका जोखिम कारकमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगसँगै तनाव र व्यायामको कमी प्रमुख छन् । अहिले हाम्रो जीवनशैली निकै परिवर्तन भएको छ । सामान्य कामका लागि पनि सवारीसाधन प्रयोग गर्ने, हिँडडुल कम गर्ने प्रवृत्ति बढेको छ ।

अमेरिकन कलेज अफ कार्डियोलोजीले वयस्कलाई हप्तामा कम्तीमा पाँच दिन करिब ४० मिनेट ब्रिस्क वाकिङ वा एरोबिक गतिविधि गर्न सुझाएको छ तर हामीमध्ये धेरैले पर्याप्त व्यायाम गरिरहेका छैनौँ । खानपानमा आएको परिवर्तन पनि अर्को कारण हो । पहिले चना, भटमास, तरकारी–रोटी, चिउरा–तरकारीजस्ता खाना बढी खाने गरिन्थ्यो । अहिले मम, बर्गर, पिज्जाजस्ता खानेकुराको प्रयोग बढेको छ । यसले पनि मुटुरोगको जोखिम बढाउन सक्छ । साथै, परिवारमा बुबा, आमा, दाजुभाइ वा दिदीबहिनीमध्ये कसैलाई कम उमेरमै हृदयघात भएको छ भने त्यसलाई पनि महत्वपूर्ण जोखिम कारक मानिन्छ ।

कोरोनरी मुटुरोगका सुरुआती लक्षण के–के हुन् ?

कोरोनरी मुटुरोगको सुरुआती लक्षणलाई हामी एन्जाइना भन्छौँ । सामान्य अवस्थामा कुनै लक्षण नदेखिए पनि भारी काम गर्दा, भ¥याङ उक्लिँदा वा दौडिँदा छातीको बीच भाग वा देब्रेतिर भारी वस्तुले थिचेजस्तो हुन सक्छ । सास फेर्न गाह्रो हुने, छिट्टै थाक्ने वा सामान्य गतिविधिमै असहज महसुस हुने पनि सुरुआती लक्षण हुन सक्छ । पहिले सामान्य रूपमा गर्दै आएको काम गर्दा अहिले छिट्टै थकान महसुस हुन्छ भने त्यसलाई सामान्यरूपमा लिनु हुँदैन । यो मुटुसम्बन्धी समस्या सुरु भएको संकेत हुन सक्छ ।

महिला र पुरुषमा मुटुरोगका लक्षण फरक देखिन सक्छन् ?

महिलामा लक्षण केही फरक रूपमा देखिन सक्छ । विशेषगरी वृद्ध, मधुमेह भएका व्यक्ति र महिलामा हृदयघात हुँदा सधैँ धेरै छाती दुख्ने मात्र हुँदैन । कतिपय महिलाले छिट्टै थाक्ने, सानो काम गर्दा पनि स्याँस्याँ हुने वा असहज महसुस हुनेजस्ता लक्षण बताउनुहुन्छ । महिलालाई मुटुरोग हुँदैन भन्ने धारणा गलत हो । महिनावारी सुक्नुअघि एस्ट्रोजन हर्मोनका कारण केही सुरक्षा हुन्छ । उमेर बढ्दै जाँदा र विशेषगरी महिनावारी सुकेपछि त्यो सुरक्षा कम हुँदै जाँदा मुटुरोगको जोखिम बढ्छ । तर, महिनावारीअघि पनि महिलालाई हृदयघात हुन सक्छ ।

कसैलाई हृदयघात भएको अवस्थामा तत्काल के गर्नुपर्छ ?

पश्चिमी देशका ठूला कार्यालय, सुपरमार्केटलगायत ठाउँमा ‘डिफिब्रिलेटर’ राखिएको हुन्छ । नेपालमा त्यस्तो व्यवस्था पर्याप्त छैन । यदि कोही एक्कासी ढल्नुभयो, नाडी महसुस भएन वा बोल्नुभएन भने तुरुन्तै बेसिक लाइफ सपोर्टअन्तर्गत छाती थिच्ने अर्थात् सिपीआर सुरु गर्नुपर्छ र तत्काल चिकित्सकीय सहयोगका लागि सम्पर्क गर्नुपर्छ । यदि हृदयघातको लक्षण देखिएको छ र व्यक्तिलाई मधुमेह, उच्च रक्तचापजस्ता जोखिम छन् भने एस्पिरिन प्रयोग गर्न सकिन्छ । सामान्यतया ३०० मिलिग्राम एस्पिरिन चपाएर नजिकको अस्पताल जान हामी सल्लाह दिन्छौँ ।

नेपालमा मुटुरोगको उपचार कत्तिको महँगो छ ?

मुटुरोगको निदान र उपचारका लागि अहिले विदेश जानुपर्ने अवस्था छैन । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमै धेरैजसो उपचार गर्न सक्षम छौँ तर मुटुरोग एकपटक उपचार गरेर मात्र निको हुने रोग होइन । जीवनभर औषधि सेवन गर्नुपर्ने हुन सक्छ र औषधि सस्तो पनि हुँदैन ।

सरकारले विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको छ । बिमाबाट केही औषधि उपलब्ध हुन्छ । १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि चिल्ड्रेन असिस्टेन्स प्रोग्राम छ । ७५ वर्षभन्दा माथिका नेपाली नागरिकका लागि सिनियर सिटिजन स्किमअन्तर्गत निश्चित उपचार तथा शल्यक्रियामा सरकारले खर्च व्यहोर्ने व्यवस्था छ । १५ देखि ७५ वर्षसम्मका विपन्न वर्गका बिरामीले नगरपालिकाको सिफारिसका आधारमा एक लाख रुपैयाँसम्म छुट पाउने व्यवस्था छ । तर, मुटुरोग लागिसकेपछि जीवनभर उपचार गर्नुपर्ने हुनसक्ने भएकाले रोकथाममा बढी ध्यान दिनुपर्छ ।

मुटुरोगको उपचारमा पहुँच र जनचेतनाको अवस्था कस्तो पाउनुभएको छ ?

मैले करिब २० वर्षदेखि अभ्यास गरिरहेको छु । सुरुका वर्ष र अहिलेको अवस्थाबीच धेरै फरक देखेको छु । अहिले जिल्ला अस्पतालदेखि प्राथमिक स्वास्थ्य चौकीसम्म स्वास्थ्य सेवा विस्तार भएको छ । सामान्य रक्तचाप र मधुमेह जाँच हुने तथा रक्तचापका औषधि पनि उपलब्ध हुने अवस्था छ । लक्षण देखिएपछि चाँडै स्वास्थ्य संस्थामा जाने चेतना पनि बढेको छ । सामाजिक सञ्जाल र सरकारका नीतिनियमले पनि यसमा सहयोग गरेका छन् । पहिले गाउँमा अचानक मृत्यु भएका घटनालाई फरक रूपमा बुझिन्थ्यो । अहिले अस्पताल पुगेर रोगको निदान हुने गरेको छ । उपचार पनि नेपालमै धेरै हदसम्म सम्भव छ । अहिले नेपालमा करिब ९५ प्रतिशतभन्दा बढी मुटुरोगको उपचार सम्भव छ ।

सहरमा हुक्का र भेपको प्रयोग बढिरहेको छ । यसले मुटुमा कस्तो असर गर्छ ?

हुक्का होस् वा अहिले प्रचलनमा आएको भेप, जुनसुकै प्रकारको धुमपान पनि मुटुका लागि राम्रो होइन । हामीले कुनै पनि रूपमा निकोटिनको प्रयोगलाई मुटुका लागि राम्रो मान्दैनौँ । त्यसैले ‘एनी फर्म अफ निकोटिन इज नट गुड फर हर्ट’ भन्ने कुरा बुझ्न जरुरी छ । कतिपय मानिसले चुरोट खादिन, हुक्का मात्र खान्छु भन्ने गरेको सुनिन्छ । तर, चुरोट नखाएर हुक्का सेवन गर्दा मुटुमा असर हुँदैन भन्ने होइन । हुक्का पनि धुमपानकै एउटा रूप हो । अहिले भेपको प्रयोग पनि बढिरहेको छ । त्यसैले चुरोट, हुक्का वा भेपमध्ये जुनसुकै माध्यमबाट निकोटिनको प्रयोग गरे पनि त्यो मुटुका लागि राम्रो होइन । सकेसम्म कुनै पनि प्रकारको निकोटिनबाट टाढा रहनुपर्छ ।

अन्त्यमा मुटुलाई स्वस्थ राख्न सर्वसाधारणलाई के सुझाव दिनुहुन्छ ?

उच्च रक्तचाप छ भने नियन्त्रण गर्न औषधि खान हिचकिचाउनु हुँदैन । मधुमेह र कोलेस्ट्रोल छ भने त्यसलाई नियन्त्रणमा राख्नुपर्छ । चिकित्सकले कोलेस्ट्रोलको औषधि खान सुझाव दिनुभएको छ भने नियमित खानुपर्छ । सूर्तीजन्य पदार्थको प्रयोग गर्नुहुन्छ भने आजैदेखि बन्द गर्नुपर्छ । हप्तामा कम्तीमा पाँच दिन ३० देखि ४० मिनेट ब्रिस्क वाकिङ वा अन्य एरोबिक गतिविधि गर्नुपर्छ । विशेषगरी लामो समय टेबलमा बसेर काम गर्ने व्यक्तिका लागि व्यायाम झनै महत्वपूर्ण छ । खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । थपेर काँचो नुन खाने बानी त्याग्नुपर्छ । चिनी तथा प्रशोधित गुलियो खानेकुरा, धेरै चिल्लो र जङ्क फुडको सेवन कम गर्नुपर्छ । प्राकृतिक फलफूल र तरकारी बढी खानुपर्छ । तनावमुक्त जीवन जिउने प्रयास गर्नुपर्छ । स्वस्थ व्यक्तिले पनि वर्षमा कम्तीमा एकपटक रक्तचाप, सुगर, कोलेस्ट्रोल जाँच गर्नुका साथै इसिजी गर्न बिर्सनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस
अन्तर्वार्ता सम्बन्धि थप
  • आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल

    आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल

  • अन्तर्वार्ताः विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

    अन्तर्वार्ताः विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

  • राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ : अध्यक्ष दाहाल

    राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ : अध्यक्ष दाहाल

  • अन्तर्वार्ता : प्रतिबद्धताअनुसारको साढे १२ खर्ब लगानी प्राप्त हुनेमा विश्वस्त छौँ– सुशील भट्ट सिइओ, लगानी बोर्ड

    अन्तर्वार्ता : प्रतिबद्धताअनुसारको साढे १२ खर्ब लगानी प्राप्त हुनेमा विश्वस्त छौँ– सुशील भट्ट सिइओ, लगानी बोर्ड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution