
दमौली (तनहुँ), ३० कात्तिकः तिहारको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले सयपत्री फूल बिक्री गरेर रु नौ लाख ५३ हजार आम्दानी गर्न सफल भएका छन् । यस वर्ष तिहारमा नगरपालिकाभित्रका किसानले दुई हजार ७६० किलोग्राम फूल बिक्री गरेका हुन् ।
स्थानीय किसानले उत्पादन गरेको सयपत्री फूलले बजार पाएपछि उनीहरू उत्साहित भएका छन् । किसानले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित हाटबजारबाट र आफ्नै बारीबाट फूल बिक्री गरेका थिए । स्थानीयस्तरमै उत्पादन भएको फूल उपभोक्तासम्म पुग्दा किसानलाई आम्दानीको अवसर मिलेको छ भने तिहारमा बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यतामा कमी आएको छ ।
शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले स्थानीय किसानको उत्पादनले बजार पाएको बताउनुभयो । किसानले उत्पादन गरेको फूल बिक्री हुनु सकारात्मक भएको उल्लेख गर्दै उहाँले स्थानीय उत्पादनको प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न बजारको पहुँच महत्त्वपूर्ण हुने बताउनुभयो ।
यस वर्ष फूल बिक्री गर्ने किसानमध्ये मुक्ति सिग्देलले सबैभन्दा बढी ६८५ किलो सयपत्री बिक्री गर्नुभएको छ । त्यस्तै सुदीप रेग्मीले ३८५ किलोग्राम, शान्ति भण्डारीले २०० किलोग्राम, सुरज वाग्लेले १७० किलोग्राम तथा ओमप्रकाश पौडेल, विनोद विश्वकर्मा र चन्द्रकला राईले जनही १५० किलोग्राम फूल बिक्री गर्नुभएको छ ।
त्यसैगरी, महेन्द्रकुमार श्रेष्ठले १२० किलोग्राम, मञ्जु श्रेष्ठले १०५ किलोग्राम र सन्तोष भट्टराईले १०० किलोग्राम फूल बिक्री गर्नुभएको छ ।
स्थानीय किसान सुरज वाग्लेले आफूले उत्पादन गरेको सयपत्री फूलले बजार पाउँदा उत्साहित भएको बताउनुभयो । स्थानीय उत्पादनले उपभोक्ताको माग पूरा गर्नसके किसानलाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।
तिहारमा सयपत्री फूलको माग बढी हुने भएकाले किसानका लागि फूलखेती आम्दानीको राम्रो माध्यम बन्दै गएको छ । घर, मठमन्दिर तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रममा प्रयोग हुने सयपत्री फूलको मागलाई स्थानीय उत्पादनले सम्बोधन गर्न थालेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |