
भोजपुर, ३० कात्तिकः पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग, प्रवेशद्वार तथा सुम्निमा–पारुहाङको सालिकलगायतका संरचना निर्माण गरिएपछि पर्यटकको आवागमन बढ्न थालेको हो ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कले कपासे भञ्ज्याङको विकासका लागि मझुवा–कपासे भञ्ज्याङ पदमार्ग तथा विश्रामस्थल निर्माण गरेको छ । पदमार्ग निर्माणसँगै पर्यटकलाई यस क्षेत्रमा पुग्न सहज भएको छ । दुई जिल्लाको सङ्गमस्थलका रूपमा रहेको कपासे भञ्ज्याङको पर्यटन विकासका लागि भोजपुर र खोटाङका स्थानीय तहबीच सहकार्य भइरहेको छ ।
कपासे भञ्ज्याङलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाइएको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । खोटाङको खोटेहाङ गाउँपालिकासँगको सहकार्यमा यस क्षेत्रको विकासका लागि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
“कपासे भञ्ज्याङ पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो”, उहाँले भन्नुभयो, “यस क्षेत्रको विकासमा हामी जुटेका छौँ । वडाको बजेटबाट प्रवेशद्वार र पदमार्ग निर्माण गरेका छौँ । कपासे क्षेत्रलाई स्थापित पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।”
कपासे भञ्ज्याङलाई ग्रेटर मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासका काम भइरहेको वडा कार्यालयले जनाएको छ । यस क्षेत्रको प्राकृतिक सौन्दर्य, भौगोलिक अवस्थिति तथा सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न सके पूर्वी पहाडी क्षेत्रकै आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण कपासे भञ्ज्याङमा आन्तरिक पर्यटकको आवागमन बढेसँगै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुगेको स्थानीय बबिन्द्र राईले बताउनुभयो । पर्यटकलाई लक्षित गरी आवश्यक संरचना निर्माण गरिएपछि यस क्षेत्रको पर्यटन विकासमा सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ ।
“पर्यटक लक्षित संरचना निर्माण भएपछि यस क्षेत्रको विकासमा टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “दुई जिल्लाका स्थानीय सरकारले यहाँको विकासका लागि आवश्यक काम गरिरहेका छन् । घुम्न आउने मानिसको सङ्ख्या बढेको छ । यसले स्थानीय कृषि उत्पादनको बजारीकरणमा सहयोग पुगेको छ । यस क्षेत्रको विकासले हामीमा उत्साह थपिएको छ ।”
कपासे भञ्ज्याङको प्रचारप्रसार र स्थानीय उत्पादनको बजारीकरणलाई थप प्रभावकारी बनाउन सके यस क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधिमा वृद्धि हुने उहाँको भनाइ छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |