
वालिङ (स्याङ्जा), १३ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उहाँले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उहाँको भनाइ थियो ।
विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो । विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो । प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताउनुभयो ।
यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको थियो । उहाँले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गर्नुभएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |