
गोरखा, ८ मङ्सिर :हावाहुरीले त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् । बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री–३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो गर्नुभयो ।
उहाँ गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थाल्नुभएको थियो । आफू जस्तै विस्थापित भएका अरु पाँच परिवार पनि त्रिपाल उडाएपछि विचल्लीमा परेको उहाँ बताउनुहुन्छ ।
बेमौसमी हावाहुरीले त्यही त्रिपाल पनि उडाएपछि उहाँको फेरि घरवास उठेको छ । “बिहान ३ बजे तिरबाट हाहाहुहुको ठूलो आवाज आएको थियो । फेरि बाढी आएछ कि भनेर उठेर बाहिर हेर्न गएँ । होइन रहेछ”, लालमाया भन्नुहुन्छ, “हावाहुरी चलेको रहेछ भनेर फेरि पालभित्र आएर सुतेँ । तर एकछिनपछि त्यही पाल पनि उडाएर लग्यो । हामीलाई फेरि खुला आकाशमुनि बनायो ।”
राहतमा पाएको ओढ्ने, ओछ्याउने र लगाउने लुगाहरु पनि हावाहुरीले उडाएर विचल्ली बनाएको उहाँको दुखेसो छ । “हाम्रो चिल्लीबिल्ली भयो । ” भाँडाकुँडा र खाद्यान्न भने बाढीले क्षति नपु¥याएको कुनै घरमा राखेकाले सुरक्षित रहेको उहाँको भनाइ छ ।
एक्कासी आएको हावाहुरीले जगतका तीन परिवार र पैँयु सल्लेरीका दुई परिवार बस्दै आएको त्रिपाल उडाएको स्थानीय विशाल घलेले जानकारी दिनुभयो । उहाँहरुलाई फेरि पुनःस्थापित गर्नुपर्ने अवस्थामा पु¥याएको उहाँको भनाइ छ ।
हावाहुरीले धार्चे–५ सिङ्लाको सिंहदेवी आधारभूत विद्यालयको भवनको छाना पनि उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धार्चे–५ का दुई गाउँबस्तीमा, धार्चे ३ को उहियामा र चुमनुब्री ३ को जगत र सल्लेरीमा निजी आवास तथा विद्यालय भवनको छाना उडाएर बिचल्ली बनाएको प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिनुभयो । जिल्लाभरि भएको हावाहुरीको प्रभावको तथ्याङ्क सङ्कलन गरिरहेको उहाँको भनाइ छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |