
काठमाडौँ, ८ मङ्सिरः शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल भएको छ । समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्ने सांसदसँग छलफल गरिएको हो ।
समिति सभापति डा ओजस्वी शेरचनले विधेयकका विभिन्न २६ वटा दफामा १२२ वटा संशोधन प्रस्ताव परेको जानकारी दिनुभयो । बैठकमा संशोधन प्रस्ताव प्रस्तुत गर्ने सांसदहरूले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, समस्या र सुधारका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
छलफलका क्रममा सांसदले चलचित्र क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र आत्मनिर्भर बनाउन विधेयकमा आवश्यक कानुनी व्यवस्था समेट्नुपर्नेमा जोड दिनुभयो । सांसद भूमिका श्रेष्ठले लैङ्गिक, अल्पसङ्ख्यक तथा समाजमा पछाडि पारिएका वर्गलाई चलचित्रमा विभेदकारी भाषा, शैली र व्यवहारबाट हुने असर रोक्न कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो । समाजमा जनचेतना अभिवृद्धि गर्ने चलचित्र निर्माणलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
सांसद सुशीला ढकाल ९आचार्य०ले चलचित्र क्षेत्रलाई राज्यका तर्फबाट सहजीकरण गर्ने, आवश्यक साधनस्रोत उपलब्ध गराउने तथा चलचित्र विकास बोर्डलाई अधिकारसम्पन्न बनाउने व्यवस्था विधेयकमा समेट्नुपर्ने बताउनुभयो । चलचित्र सेन्सरसँग सम्बन्धित व्यवस्थाको पुनरावलोकन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
सांसद गणेशबहादुर विश्वकर्माले चलचित्र क्षेत्रलाई आत्मनिर्भर र कलात्मक क्षेत्रका रूपमा पुनःपरिभाषित गर्नुपर्ने बताउनुभयो । चलचित्रको परिभाषा परिवर्तन गर्नुका साथै चलचित्र जाँच समितिको नाम परिवर्तन गरी चलचित्र वर्गीकरण समिति बनाउनुपर्ने उहाँको सुझाव थियो ।
सांसद प्रकाशचन्द्र परियारले चलचित्र क्षेत्रले नेपालको अन्तरराष्ट्रिय पहिचान र सफ्ट पावरका रूपमा काम गर्न सक्ने सम्भावना रहेकाले यसको प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । चलचित्र जाँच प्रक्रियामा मौलिकता, भाषा र संस्कृतिको प्रवर्द्धनलाई पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । चलचित्रलाई नाफा आर्जनको माध्यमका रूपमा मात्र नभई भाषा, संस्कृति र मौलिक कल्पनाको प्रवर्द्धन गर्ने माध्यमका रूपमा हेर्नुपर्ने उहाँले बताउनुभयो ।
सांसद सुभल खरेलले चलचित्र जाँच समितिले गरेको निर्णयमा चित्त नबुझेमा सिधै अदालत जानुभन्दा सुरुमा मन्त्रालयमा उजुरी गर्न सकिने व्यवस्था विधेयकमा राख्नुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै, सांसद कमल सुवेदीले चलचित्र क्षेत्रसँग सम्बन्धित विषयलाई सङ्घ, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्रसँग जोडेर स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
छलफलमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्न समयानुकूल नयाँ कानुन ल्याउन लागिएको बताउनुभयो । उहाँले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा प्रवर्द्धन, सूचना प्रवाह, सिर्जनशीलता र आर्थिक विकासमा योगदान पु¥याउने उद्योगका रूपमा विकास गर्ने उद्देश्यले विधेयक तयार गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले चलचित्र सेन्सर र वर्गीकरणबीचको भिन्नता स्पष्ट पार्दै यससम्बन्धी कानुनी व्यवस्था अन्तरराष्ट्रिय अभ्यासअनुसार परिमार्जन गर्नुपर्ने बताउनुभयो । कुन विषयमा सेन्सर आवश्यक हुन्छ र कुन विषयलाई वर्गीकरणमार्फत व्यवस्थापन गर्न सकिन्छ भन्ने स्पष्ट हुनुपर्ने उहाँको भनाइ थियो ।
सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र विकास बोर्डको उद्देश्य, भूमिका, अधिकार र नेतृत्वसम्बन्धी व्यवस्था पनि कानुनबाटै स्पष्ट हुनुपर्ने बताउनुभयो । बोर्डलाई प्रभावकारी रूपमा काम गर्न सक्ने गरी संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै आवश्यक स्वायत्तता र अधिकार प्रदान गर्नुपर्ने उहाँको धारणा थियो ।
समिति सभापति डा शेरचनले चलचित्र क्षेत्रका सरोकारवालासँग गहन छलफल गरी विधेयकलाई थप परिष्कृत बनाइने बताउनुभयो । चलचित्रले नेपालको भाषा, संस्कृति, पहिचान र राष्ट्रिय हित प्रवर्द्धन गर्ने भएकाले यसको विकास र संरक्षणलाई ध्यानमा राखेर आवश्यक कानुनी व्यवस्था गरिने उहाँको भनाइ थियो ।
सरकारले विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गर्दै चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन, नियमन र व्यावसायिक विस्तारका लागि चलचित्र विधेयक, २०८१ अघि बढाएको हो । विधेयकमा चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउने, चलचित्र निर्माण, वितरण तथा प्रदर्शनलाई व्यवस्थित गर्ने र बोर्डको नियमनकारी भूमिकालाई प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।
विधेयकमा चलचित्र प्रदर्शनमा बक्स अफिस प्रणाली अनिवार्य गरी टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि तथा दर्शकको रुचिसम्बन्धी विवरण पारदर्शी बनाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ । त्यसैगरी चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षा, मातृभाषाका चलचित्रको प्रवर्द्धन, आदिवासी जनजाति समुदायका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण, स्वदेशी चलचित्रको बजार विस्तार, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने विषय समेटिएका छन् ।
नेपाललाई अन्तरराष्ट्रिय चलचित्र छायाङ्कन तथा निर्माणको आकर्षक गन्तव्य बनाउने, चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाली चलचित्रको अन्तरराष्ट्रियकरणमा सहयोग पु¥याउने लक्ष्य पनि विधेयकले राखेको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |