
द्वन्द्व, आपूर्ति शृङ्खलामा अवरोध र कृषि सामग्रीको बढ्दो मूल्यले खाद्य सुरक्षामा चुनौती थपिरहेका बेला स्थानीय उत्पादन र कृषि क्षेत्रको उत्थानशीलता बलियो बनाउनुपर्ने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक पदका उम्मेदवार फिल होगनले बताउनुभएको छ ।
एएनआईसँग कुरा गर्दै उहाँले हर्मुज जलघाँटी र कृष्ण सागर क्षेत्रका द्वन्द्वले मल तथा ऊर्जाको मूल्य बढाउँदा विश्वभरका किसान प्रभावित भएको बताउनुभयो । स्थानीय उत्पादन सुरक्षित भए विश्वव्यापी खाद्य सुरक्षा पनि बलियो हुने उहाँको भनाइ छ ।
होगनले एफएओको मुख्यालयमा मात्र निर्णय केन्द्रित नगरी क्षेत्रीय तथा देशगत कार्यालयलाई सुदृढ बनाउनुपर्ने बताउनुभयो । किसानका आवश्यकता र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषि कार्यक्रमका लागि पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने उहाँको धारणा छ ।
उहाँले खाद्य सुरक्षालाई विश्वव्यापी राजनीतिक तथा सुरक्षा छलफलको केन्द्रमा राख्न, जलवायु परिवर्तनसँग जुध्न तथा डिजिटल कृषि र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । प्रविधिको लाभ साना किसानसम्म पु¥याउनुपर्ने र कृषि क्षेत्रबाट विशेषगरी अफ्रिका तथा भारतमा रोजगारी सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो ।
भारतसँग डिजिटल कृषि, चक्रीय तथा जैविक अर्थतन्त्रमा पर्याप्त विशेषज्ञता रहेको उल्लेख गर्दै होगनले विकासशील देशको लाभका लागि दक्षिण–दक्षिण सहकार्य विस्तार गर्न नयाँदिल्लीसँग काम गर्ने इच्छा व्यक्त गर्नुभयो ।
महानिर्देशक पदको उम्मेदवारीका लागि समर्थन जुटाउन भारत पुग्नुभएका होगनले त्यहाँका कृषि तथा विदेश मामिला मन्त्रालयका अधिकारीसँग भेट गरी एफएओका कार्यक्रम र कार्यान्वयन प्रणाली सुधारबारे छलफल गरिरहनुभएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |