
इन्डोनेसियाको जकार्तानजिकै रहेको क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि बेपत्ता ३४ श्रमिकको खोजीमा सोमबार ५०० भन्दा बढी उद्धारकर्मी परिचालन भएका छन् । आगलागीमा २४ जनाको शव वा मानव अवशेष सङ्कलन गरिएको छ भने २९ जनाको उद्धार गरिएको छ ।
बान्टेन प्रान्तस्थित पिटी फोनुसा अगुङ मुलिया कारखानामा शनिबार आगलागी भएको थियो । तीनतले भवनमा फैलिएको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकलाई करिब १४ घण्टा लागेको थियो । चिस्याउने उपकरणबाट सुरु भएको आगो मुख्यतः दोस्रो तलामा फैलिएको अधिकारीहरूले बताएका छन् ।
आगलागी हुँदा कारखानामा करिब ३०० श्रमिक कार्यरत थिए । तीमध्ये ६३ जना सबैभन्दा बढी प्रभावित क्षेत्रमा रहेको अनुमान गरिएको छ । उद्धार गरिएका २९ जनामध्ये पाँच जनालाई अस्पताल भर्ना गरिएको छ ।
राष्ट्रिय खोज तथा उद्धार निकाय बसरनासले मृतकको यकिन सङ्ख्या सार्वजनिक गरेको छैन । सङ्कलित मानव अवशेषको पहिचानका लागि फरेन्सिक परीक्षण गरिने जनाएको छ । सैनिक, प्रहरी, रेडक्रसका कर्मचारी र स्वयंसेवकसहितको उद्धार टोलीले करिब दुई हजार वर्गमिटर क्षेत्रफलमा खोजी गरिरहेको छ । बेपत्ता श्रमिकका आफन्त घटनास्थलमा उद्धारको खबर पर्खिरहेका छन् ।
उक्त कारखानामा इन्डोनेसियाको दूधमा आधारित क्यान्डी तथा खाजा उत्पादन गर्ने मिल्किटा ब्रान्डका सामग्री बनाइन्छन् । ती उत्पादन ४० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन् ।
इन्डोनेसियामा पछिल्ला वर्षमा भएका औद्योगिक आगलागीका घटनाले कार्यस्थलको सुरक्षा मापदण्ड र उद्योगमा आपत्कालीन तयारीको अवस्थाबारे चिन्ता बढाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |