
काठमाडौँ, ३ मङ्सिरः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी) का कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी लक्ष्य कार्यान्वयनका लागि आगामी दुई वर्ष निर्णायक हुने बताउनुभएको छ ।
कोप–३१ अन्तर्गत बुधबार दोस्रो विश्वव्यापी जलवायु समीक्षा (ग्लोबल स्टकटक) प्रक्रिया शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोप–३३ सम्म महत्वाकाङ्क्षी नतिजा हासिल गर्न राजनीतिक सहमति, अन्तरराष्ट्रिय सहयोग र व्यावहारिक कार्यान्वयनमा जोड दिनुभएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।
उहाँले पहिलो विश्वव्यापी समीक्षामा सहमति भएका लक्ष्य कार्यान्वयनलाई तीव्रता दिन, वैज्ञानिक प्रमाण तथा तथ्याङ्क सङ्कलन गर्न र सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
पहिलो विश्वव्यापी समीक्षाका निष्कर्षलाई ९० प्रतिशत पक्ष राष्ट्रले आफ्ना राष्ट्रिय जलवायु योजनामा समावेश गरिसकेको उल्लेख गर्दै उहाँले अब प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
पहिलो समीक्षामा सन् २०३० सम्म विश्वव्यापी नवीकरणीय ऊर्जा क्षमता तीन गुणा बढाउने, ऊर्जा दक्षता दोब्बर बनाउने तथा जीवाश्म इन्धनबाट न्यायोचित, व्यवस्थित र समतामूलक रूपमा बाहिरिने सहमति भएको उहाँले स्मरण गराउनुभयो ।
त्यसैगरी, जलवायु अनुकूलनका योजना कार्यान्वयन गर्ने तथा जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि सहयोग विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।
दोस्रो विश्वव्यापी समीक्षा प्रभावकारी बनाउन जलवायु विज्ञानका साथै आर्थिक, सामाजिक र विकाससम्बन्धी प्रमाणलाई आधार बनाउनुपर्ने उल्लेख गर्दै उहाँले लगानी तथा प्रविधिको अवस्था र निजी क्षेत्र, आदिवासी जनजाति, स्थानीय समुदाय तथा नागरिक समाजका अनुभव समेट्नुपर्ने बताउनुभयो ।
उहाँले पक्ष राष्ट्र र गैरपक्ष राष्ट्र सबैको सहभागितामा समीक्षा प्रक्रियालाई समावेशी र विश्वव्यापी बनाउन आग्रह गर्नुभएको सचिवालयले जनाएको छ । अहिले सुरु भएको सूचना तथा तथ्याङ्क सङ्कलनको गुणस्तरले आगामी वर्ष हुने मूल्याङ्कनको प्रभावकारिता निर्धारण गर्ने उहाँले बताउनुभयो । “भूराजनीतिक चुनौती गम्भीर छन्, तर महत्वाकाङ्क्षी नतिजा हासिल गर्न सम्भव छ,” उहाँले भन्नुभयो ।
जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय प्रयास वार्ताबाट तयार हुने दस्तावेजमा मात्र सीमित नभई मानिसले सास फेर्ने हावा, जीविकोपार्जन र समुदायको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै उहाँले यस प्रक्रियामा प्रत्येक व्यक्ति र समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |