
म्याग्दी, २ मङ्सिरः रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु भएको छ ।
पूर्वाधार विकास कार्यालयले जैसीखोर–खहरेखोला–रिसिनचौतारी सडक योजनाअन्तर्गत बैसरी–रिसिनचौतारी खण्ड स्तरोन्नति गर्न लागेको हो । सडक फराकिलो पार्ने, ग्रेड र घुम्ती सुधार गर्ने, टेवा पर्खाल तथा नाली निर्माण गर्ने र ग्राभेल तथा ढलान गर्ने काम योजनामा समेटिएको छ ।
रु तीन करोड ३५ लाख छ हजार ४८० लागतमा निर्माण सम्पन्न गर्ने गरी गत साउन ४ गते अङ्कित एन्ड जेनिशा साहना जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८४ साउन ४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजेश उलकका अनुसार एक हजार ८०० मिटर सडक नालीसहित छ मिटर चौडा बनाइनेछ । त्यसमध्ये ६१० मिटर सडक ढलान र एक हजार १९० मिटर ग्राभेल गरिनेछ । योजनाअन्तर्गत ९९० घनमिटर ग्याबियन पर्खाल र एक हजार ६४९ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिनेछ ।
निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले पहिलो चरणमा एक हजार २०० मिटर सडक फराकिलो पार्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीले तीन महिनाभित्र काम सक्ने लक्ष्यसहित उपकरण परिचालन गरेको छ । लक्ष्यअनुसार काम सम्पन्न गर्न थप मजदुर र निर्माण सामग्रीको व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
यो सडकले रघुगङ्गा गाउँपालिका–२ र ३ लाई कालीगण्डकी करिडोरसँग जोड्छ । कालीगण्डकी करिडोरको घुमाउनेताल–बैसरी खण्डको वैकल्पिक मार्गका रूपमा विकास गर्ने र स्थानीयवासीको आवागमन सहज बनाउने उद्देश्यले योजना सञ्चालन गरिएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |