
नेपालगन्ज (बाँके), १ मङ्सिरः पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ ।
उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरमा निर्माण गरिएका रेलिङलगायतका पूर्वाधार भत्किएका छन् । पर्यटकलाई आकर्षित गर्न बनाइएका संरचनाको सामान्य मर्मतसम्भार हुन नसक्दा ठूलो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको स्थानीयको गुनासो छ ।
नेपालगन्ज–२२ पुरैनीका स्थानीय चेतबहादुर थापाले संरक्षण र रेखदेखको अभावमा तालको अवस्था बिग्रँदै गएको बताउनुभयो । “कान्ति ताललाई पर्यटकीयस्थल बनाउन ठूलो बजेट खर्च गरिएको हो । तर, अहिले यहाँका संरचना भत्किएका छन्, झाडी बढेको छ । संरक्षणका लागि पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो ।
थापाका अनुसार कान्ति ताल पर्यटकीयस्थल मात्र नभई जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो । विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थान रहेको तालको संरक्षण नहुँदा यहाँको पर्यावरणीय महत्व जोखिममा परेको उहाँको भनाइ छ ।
“यो तालको महत्व पर्यटकीय पूर्वाधारमा मात्र सीमित छैन । यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी पाइन्छन् । तालको प्राकृतिक स्वरूप जोगाउन सकिए यसले पर्यटनसँगै जैविक विविधताको संरक्षणमा पनि योगदान पु¥याउँछ”, थापाले भन्नुभयो ।
पर्यावरण तथा चरा संरक्षणमा क्रियाशील अभियानकर्मीले तालको प्राकृतिक स्वरूप जोगाउन र पुरानै अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएका छन् । संरक्षणका लागि आवश्यक पहल नहुँदा तालको अवस्था सुधार हुन सकेको छैन ।
ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख राजस्व बुझाउने सम्झौता गरी जिम्मा लिएका फनबहादुर गुरुङले पनि ताल परिसरका पूर्वाधार तोडफोड भएको बताउनुभयो ।
“ताल परिसरमा निर्माण गरिएका रेलिङ तथा अन्य संरचनामा क्षति पुगेको छ । लागुऔषध प्रयोगकर्ताले ती संरचना तोडफोड गरेको हुनसक्ने देखिन्छ । संरचनाको संरक्षण र नियमित रेखदेखका लागि प्रभावकारी व्यवस्था आवश्यक छ”, उहाँले भन्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाले अपेक्षित नतिजा दिन नसकेको स्वीकार गर्नुभयो । उहाँले अब सरोकारवाला निकायसँग छलफल गरेर तालको दिगो संरक्षण र व्यवस्थापनका लागि नयाँ योजना बनाउने तयारी भइरहेको बताउनुभयो ।
“विगतमा निर्माण गरिएका योजनाले सोचेअनुसारको नतिजा दिन सकेनन् । अब सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिसँग गहन छलफल गरेर कान्ति तालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी योजना बनाउने तयारीमा छौँ”, प्रवक्ता रिजालले भन्नुभयो ।
उपमहानगरपालिकाले नयाँ योजना बनाउने बताए पनि यसअघि खर्च भएको रकमको प्रतिफल र निर्माण भएका संरचनाको संरक्षणबारे प्रश्न उठेको छ । सात वर्षअघि सुरु गरिएको योजनाले अपेक्षित गति लिन नसक्दा तालको विकासमा गरिएको लगानी खेर जाने जोखिम बढेको छ ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले तालको तत्काल संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
“कान्ति ताल नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिसँग जोडिएको महत्वपूर्ण सम्पत्ति हो । यसलाई जीर्ण अवस्थामा छाड्नु हुँदैन । भएका संरचनाको मर्मतसम्भार गरेर तालको प्राकृतिक र पर्यटकीय महत्व जोगाउन तत्काल पहल गर्नुपर्छ”, श्रेष्ठले भन्नुभयो । स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र जैविक विविधता संरक्षणको सम्भावना बोकेको कान्ति तालको अवस्था सुधार गर्न उपमहानगरपालिकाले तत्काल प्रभावकारी व्यवस्थापन योजना ल्याउनुपर्ने स्थानीयको माग छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |