
भोजपुर, २८ कात्तिकः भोजपुरको अरुण गाउँपालिकाका स्थानीयवासी हराउँदै गएको परम्परागत कोगटी खेतीको संरक्षणसँगै आयआर्जनमा जुटेका छन् । परम्परागत खेतीलाई व्यावसायिक रूपमा अघि बढाउँदै स्थानीय उत्पादनबाट आर्थिक लाभ लिन किसान कोगटी खेतीमा सक्रिय भएका हुन् ।
अरुण गाउँपालिका–६ का वडाध्यक्ष गणेश राईका अनुसार जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी र चोम्ताङ क्षेत्रमा कोगटी खेती बढी हुने गरेको छ । ती क्षेत्रका २५ देखि ३० घरधुरीले व्यावसायिक रूपमा कोगटी खेती गर्दै आएका छन् । वडाले पनि परम्परागत रूपमा गर्दै आएको कोगटीबाट कपडा बनाउने तथा खेती प्रणालीलाई संरक्षणमा जोड दिएको उहाँको भनाइ छ ।
कोगटीबाट तयार गरिएको हातले बुनेको कपडाको बजारमा राम्रो मूल्य पाउने भएपछि किसान यस खेतीप्रति आकर्षित भएका छन् । अरुण गाउँपालिकाका किसान देवकुमार राईले कोगटीबाट तयार गरिएको एक थान दौरा सुरुवालको कपडा रु २५ हजारदेखि ३५ हजारसम्ममा बिक्री हुने बताउनुभयो । कोगटीको हातले तयार गरिएको दौरा सुरुवालको बढी माग हुने गरेको उहाँको भनाइ छ ।
यस खेतीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने गरेको राईले जानकारी दिनुभयो । “कोगटी खेती हाम्रो आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “लोप हुँदै गएको कोगटी खेतीको संरक्षणसँगै आयआर्जन बढाउने उद्देश्यले हामी यसको खेतीमा जुटेका छौँ ।”
कोगटीबाट खैरो र सेतो गरी दुई प्रकारका धागो उत्पादन गरिन्छ । उत्पादित धागोलाई परम्परागत तानमा बुनेर दौरा–सुरुवाल, कोट, टोपी, झोला, रुमाललगायतका कपडा तयार गरिन्छ । स्थानीयस्तरमा उत्पादन हुने कोगटीका कपडाको बजारमा माग राम्रो रहेको कृषक दर्जकुमार राईले बताउनुभयो । उहाँका अनुसार किसान यो क्षेत्रमा समूह गठन गरेर सामूहिक कोगटी खेती गर्दै आएका छन् ।
कोगटी खेतीको संरक्षण तथा विस्तारका लागि गाउँपालिकाले किसानलाई उन्नत जातका बीउ, खेतीका लागि आवश्यक औजार तथा उपकरण उपलब्ध गराउँदै जनाएको छ । कोगटीबाट उत्पादित धागोको प्रयोग गरी हातबाट कपडा तयार गर्ने सीप विकासका लागि तालिम सञ्चालनसँगै किसानलाई आवश्यक सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो ।
परम्परागत कोगटी खेतीको संरक्षण, उत्पादन वृद्धि र कपडा निर्माणसम्बन्धी सीप विकासमार्फत स्थानीय किसानको आयआर्जन बढाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |