
भोजपुर, २६ कात्तिकः भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ ।
प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीतिअनुसार रु चार करोड ८० लाख लागतमा डेढतले भवन निर्माण सम्पन्न गरी अस्पताल सञ्चालनमा ल्याइएको हो ।
अस्पतालबाट नियमित स्वास्थ्य सेवा प्रवाह भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम भएको छ ।
गाउँमै विशेषज्ञ चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
“सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न अस्पताल सञ्चालनमा ल्याएका हौँ”, अध्यक्ष राईले भन्नुभयो, “नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ ।”
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले अस्पताल सञ्चालनमा आएपछि विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई राहत पुगेको बताउनुभयो । स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।
अस्पतालबाट आकस्मिक तथा बहिरङ्ग (ओपिडी) सेवा, प्रयोगशाला परीक्षण, गर्भवती महिलाका लागि भिडियो एक्सरे, मातृ तथा शिशु स्वास्थ्य सेवा, स्त्रीरोग तथा प्रसूति सेवा, नसर्ने रोगको परीक्षण र बर्थिङ सेवा सञ्चालन भइरहेका छन् । त्यस्तै, गाउँघर क्लिनिकमार्फत पनि स्वास्थ्य सेवा उपलब्ध गराइएको अस्पतालका चिकित्सक कौसलकिशोर अम्बिकादेव यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच शय्या क्षमताको अस्पतालबाट दैनिक २५ देखि ३० जनासम्मले स्वास्थ्य सेवा लिँदै आएका छन् । अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि सदरमुकाम वा अन्य जिल्ला जानुपर्ने बाध्यता कम भएको भन्दै स्थानीयवासी खुसी भएका छन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |