
काठमाडौँ, २० कात्तिक: ‘डम्फु सेलो शतक यात्रा’ नामक पुस्तक प्रकाशनमा आएको छ । पत्रकार तथा लेखक सुशीला तामाङले अध्ययन तथा अनुसन्धान गर्नुभएको पुस्तकको सम्पादन अनुसन्धादाता, अध्यता कैलाश राईले गर्नुभएको हो ।
‘डम्फु सेलो’ कार्यक्रमको १०० श्रृङ्खलालाई विश्लेषणात्मक रूपमा अध्ययन एवं अनुसन्धान गरेर तयार पुस्तक तयार पारिएको लेखक तामाङले बताउनुभयो । आज पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम वाइबा तामाङ, पूर्वमन्त्री सूर्यमान दोङ, तामाङ संस्कृतिविद् मानवशास्त्री बुद्धिबहादुर ङ्यासुर तामाङ, कवि एवं आख्यानकार बिना थिङ, सेलो गायक रोजबहादुर मोक्तान, लेखक एवं अध्यता रवीन्द्र तामाङ, लेखक तामाङलगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।
पुस्तकमा डम्फु सेलोको पृष्ठभुमि, सेलो र डम्फुको अन्तरसम्बन्ध, डम्फुको निर्माणको इतिहास, सेलो सङ्गीतको आयामलगायत पक्षलाई संक्षिप्त ढंगले केलाउदै विशेषगरी डम्फु सेलो कार्यक्रमको एक सय शृङ्खलालाई जोड दिएर अध्ययन तथा विश्लेषण गरिएको छ । पुस्तकमा कार्यक्रमको सुरुवाती कथा, सञ्चालनको सङ्घर्ष, चुनौती र आमदर्शक प्रेमीहरूको साथ एवं प्रेम तथा कार्यक्रममा उपस्थित अतिथि टोलीको धारणालाई समेटिएको छ ।
पुस्तकको लोकार्पणपछि ‘तामाङ संस्कृति र डम्फु सेलो’ विषयक छलफल कार्यक्रम गरिएको थियो । छलफलमा राज्यमन्त्री तामाङ, तामाङ संस्कृतिविद् मानवशास्त्री ङ्यासुर तामाङ, कवि एवं आख्यानकार थिङ र सेलो गायक मोक्तानले पुस्तक एवं तामाङ पहिचान, इतिहास, सभ्यता, सेलो सङ्गीतको विविध आयामबारे परिचर्चा गर्नुभएको थियो । छलफलको सहजीकरण डम्फु सेलो कार्यक्रमका निर्माता जगत दोङ तामाङले गर्नुभएको थियो ।
राज्यमन्त्री तामाङले पुस्तक सानो आकारको देखिए पनि निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । तामाङ संस्कृतिविद् मानवशास्त्री ङ्यासुर तामाङले पुस्तकमा समेटिएको विषयवस्तुलाई नयाँ युगको सेलोका रूपमा रहेको धारणा व्यक्त गर्नुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |