
काठमाडौँ, १७ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आफ्ना प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ । प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार, मर्यादित र अनुशासित बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका विभिन्न कार्यालयमा कार्यरत ७२० जना ट्राफिक प्रहरी कर्मचारीलाई आज सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, जिम्मेवार, अनुशासित तथा व्यवस्थित बनाउँदै प्रहरी सङ्गठनको गरिमा र छविलाई उच्च राख्ने उद्देश्यले अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग व्यापक बन्दै गएको सन्दर्भमा प्रहरी कर्मचारीले व्यक्तिगत तथा व्यावसायिक जीवनमा यसको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, जिम्मेवारी र अनुशासनबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
बैङ्किङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्किङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरका दीक्षान्त बानियाँ रहेका छन् । उनलाई सिआइबीको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरेको हो ।
नेपाल राष्ट्र बैङ्कको जाहेरीका आधारमा नेपाल सरकार वादी र बानियाँ प्रतिवादी रहेको बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
सिआइबीका सहप्रवक्ता योगेन्द्रकुमार खड्काका अनुसार उच्च अदालत पाटन, हरिहरभवन ललितपुरबाट पक्राउ अनुमति लिएर बानियाँलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका बानियाँलाई आज अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ
डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका आठ जनामध्ये दुई जना कैदी बन्दीलाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम पश्चिमका रामबहादुर कामी र सल्यानका रेशम राना रहेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले कारागारबाट फरार भएका दुई कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीका अनुसार यही कात्तिक १४ गते बिहान ६ः०० बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३, दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी फरार भएका थिए । फरार हुनेमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कामीसहित छ जना कैदी र दुई जना थुनुवा रहेका थिए ।
पक्राउ परेका कामीलाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा १८ वर्ष कैद सजाय तोकिएको थियो । उनले १३ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै, रानालाई सोही कसुरमा १२ वर्ष कैद सजाय तोकिएकोमा नौ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |