
काठमाडौँ, १६ कात्तिकः चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उक्त टोलीलाई बिदाइ गरेको हो ।
त्यस अवसरमा क्यानका उपाध्यक्ष रोशन सिंहले आगामी वर्ष हुने आइसिसी यु–१९ महिला विश्वकपको तयारीस्वरूप नेपाली टोलीले चीनमा सिरिज खेल्न लागेको जानकारी दिनुभयो । खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उहाँले खेलाडीलाई परिपक्व खेल प्रदर्शन गर्न सुझाव दिनुभयो ।
टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले चीन भ्रमण खेलाडीका कमजोरी सुधार्ने र अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । उक्त सिरिजले टोलीको समग्र क्षमता मूल्याङ्कन गर्दै आगामी प्रतियोगिताका लागि बलियो टोली निर्माण गर्न पनि सहयोग पुग्ने उहाँको भनाइ थियो ।
टोलीकी कप्तान सोनी पाख्रिनले उक्त प्रतियोगिताका लागि आफूहरू पूर्ण तयारी रहेकाले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
क्यानका अनुसार ‘बेल्ट एन्ड रोड सिरिज’ भोलिदेखि यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्डको सहभागिता रहनेछ । नेपालले प्रतियोगितामा तीनवटै टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |