
कास्की, १४ कात्तिकः कास्कीमा कृत्रिम गर्भाधानबाट जन्मिएका पाडी तथा बाच्छी हुर्काउन किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइने कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । स्थानीयस्तरमै गाईभैँसीको उत्पादन बढाउँदै बाहिरबाट पशु आयात घटाउने उद्देश्यले पाडी बाच्छी हुर्काउनका लागि सरकारले किसानलाई नगद अनुदान दिनेछ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय कास्कीले यसका लागि आवेदन माग गरेको छ । यस वर्ष यो कार्यक्रम अन्नपूर्ण गाउँपालिकाका सबै वडामा सञ्चालन हुने कार्यालयका प्रमुख डा ग्रिष्म न्यौपानेले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमअन्तर्गत एक वर्ष उमेर पुगेका पाडी तथा बाच्छीलाई प्रतिगोटा अधिकतम रु १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइनेछ ।
“एक जना कृषकले बढीमा पाँच वटा पाडीबाच्छीका लागि आवेदन दिन सक्नेछन् । यसअनुसार एक कृषकले अधिकतम रु ५० हजारसम्म सहयोग पाउनेछन्”, प्रमुख न्यौपानेले भन्नुभयो । कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको छ । उक्त रकमबाट ३४५ वटा पाडी तथा बाच्छीलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
“स्थानीयस्तरमा जन्मिएका पाडीबाच्छीलाई हुर्काएर उत्पादनशील गाईभैँसीको सङ्ख्या बढाउनसके दूध उत्पादनमा वृद्धि हुनुका साथै अन्य जिल्लाबाट गाईभैँसी खरिद तथा आयात गर्नुपर्ने बाध्यता हुँदैन । यसले स्थानीय किसानलाई पशुपालनमा आकर्षित गर्नुका साथै उत्पादन र आम्दानी बढाउन पनि सहयोग पुग्नेछ”, कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो ।
प्रोत्साहन रकम पाउन सम्बन्धित गाउँपालिकामा गाईभैँसीपालन गरिरहेको, कृत्रिम गर्भाधानबाट जन्मिएका पाडी वा बाच्छी पालिरहेको र तिनको उमेर एक वर्ष पुगेको हुनुपर्नेछ । आवेदनका साथ कृषकले कृत्रिम गर्भाधानको प्रमाण, पशुको बिमालेख, पहिचान खुल्ने फोटो तथा सम्बन्धित पशु सेवा शाखाको सिफारिस पेस गर्नुपर्नेछ ।
स्थानीयस्तरमा पशुको नश्ल सुधार, उत्पादन वृद्धि र गाईभैँसीको सङ्ख्या विस्तार गर्दै दूध उत्पादनमा आत्मनिर्भर बन्न तथा बाह्य निर्भरता घटाउन कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ ।
कास्कीमा गत वर्ष यो कार्यक्रम कार्यान्वयन गरिएको थियो । जसमा ९९ कोरली पाडी र ३५५ कोरली बाच्छी हुकिइ माउ बन्न योग्य भएको बताइन्छ । यसबाट आगामी वर्ष जिल्लामा १२ लाख लिटर अतिरिक्त दूध उत्पादन हुने अपेक्षा गरिएको पशु विकास अधिकृत सहदेव पौडेलले बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |