
दमौली (तनहुँ), १३ कात्तिकः तनहुँको सदरमुकाम दमौलीमा आजदेखि प्रथम व्यास मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । व्यास नगरपालिका नगर खेलकुद समितिको आयोजनामा व्यास नगरपालिका-३ बिपी वनबाटिका खेल मैदानमा इलेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो ।
दमौलीमा १५ वर्षपछि इलेभेन साइड फुटबल प्रतियोगिता सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार खेल मैदानको अभावमा सेभेन ए साइड फुटबल मात्रै हुने गरेकामा नगरपालिकाको सक्रियतामा मैदान स्तरोन्नतिपश्चात् एलेभेन ए साइड प्रतियोगिता गर्न सम्भव भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले खेलकुदका विभिन्न विधामा खेलका गतिविधि अगाडि बढाइएको भन्दै वडास्तरबाटै खेलकुद सञ्चालन गर्दा दक्ष खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कराँते, क्रिकेट, ब्याडमिन्टन, फुटबललगायत खेललाई नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो । नगरप्रमुख न्यौपानेले बिपी वनबाटिकाको खेलमैदान स्तरोन्नतिका लागि सङ्घ सरकारसँग सहकार्य गरिएको बताउनुभयो ।
नगर खेलकुद समितिका अध्यक्ष जीवन गुरुङले खेलाडीको क्षमता विकास र वडाबाट दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले आगामी वर्षदेखि यस प्रतियोगितालाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।
प्रतियोगिताका लागि नगर खेलकुद विकास समितिबाट रु पाँच लाख र प्रत्येक वडाबाट रु एक/एक लाख खर्च हुनेछ । प्रतियोगितामा नगरका १४ वटै वडाको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख, द्वितीय हुने टोलीले रु ७५ हजार र तृतीय हुने टोलीले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कृत गरिनेछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |