
वालिङ (स्याङ्जा), २७ असोजः स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुनेगरी गर्भवतीलाई अस्पतालसम्म पुर् याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । गर्भवतीलाई सहजरुपमा अस्पतालसम्म पुर्याएर सुरक्षित रुपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी एवम् स्वास्थ्य शाखा प्रमुख विदुर सिग्देलले जानकारी दिनुभयो ।
सुरक्षित तथा संस्थागत सुत्केरी गराउन प्रोत्साहन गर्ने, मातृशिशु मृत्युदरलाई शून्यमा झार्ने र घरमै हुने सुत्केरीको दरलाई शून्यमा पु¥याउने उदेश्य राखिएको उहाँले बताउनुभयो ।
“गाउँघरमा आवश्यक परेका जुनसुकै बेला सवारीसाधन उपलब्ध नहुन सक्छन्, कतिपयलाई अस्पतालसम्म पुग्न सवारीसाधनको पहुँच नहुन पनि सक्छ”, उहाँले भन्नुभयो, “गर्भवतीलाई छिटो छरितो र सहजरुपमा अस्पतालसम्म पु¥याएर सुरक्षितरुपमा सुत्केरी बनाउन एम्बुलेन्स सेवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।”
हरिनास गाउँपालिका ग्रामीण र विकटमा रहेको गाउँपालिका हो । गर्भवती तथा सुत्केरीलाई लक्षित गरी गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा छन् । वडा नं ३ को मग्याम चिसापानीस्थित मग्याम चिसापानी स्वास्थ्य चौकी, वडा नं ४ को चित्रेभञ्ज्याङमा रहेको चित्रेभञ्ज्याङ स्वास्थ्य चौकी र वडा नं ६ को क्याक्मीमा अवस्थित क्याक्मी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छ ।
“घरबाट बर्थिङ सेन्टरसम्म सहज रुपमा पुर्याउन पालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको हो”, उहाँले भन्नुभयो, “गर्भवती तथा सुत्केरीलाई नेपाल सरकारले रु दुई हजार उपलब्ध गराउँदै आएको छ ।”
हरिनाश गाउँपालिकामा हालसम्म एउटा आयुर्वेद औषधालयसहित कुल १० वटा स्वास्थ्य चौकी रहेका छन् । स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै अस्पतालको भवन निर्माण भइरहेको छ ।
गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन चालु आर्थिक वर्षमा रु नौ लाख बजेट विनियोजन गरिएको छ । हरिनास गाउँपालिकाभित्र हाल मग्याम चिसापानी स्वास्थ्य चौकीको र अर्को एक स्थानीय संस्थाको गरी दुई वटा एम्बुलेन्स सञ्चालनमा छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |