
नारायणगढ (चितवन), २५ असोजः चाडपर्वका अवसरमा यात्रुको सहजता, सडक सुरक्षा र शान्तिसुरक्षालाई ध्यानमा राखी चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा यात्रु सहायता कक्ष सञ्चालन ल्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चाडपर्वका समयमा यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने, यात्रा सहजीकरण गर्ने तथा यात्रुका समस्या र गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चाडपर्वका समयमा सडक सुरक्षालाई व्यवस्थित बनाउनु र यात्रु तथा अन्य सरोकार भएकालाई पर्ने समस्या तथा गुनासो तत्काल सम्बोधन गर्नु सहायता कक्षको उद्देश्य हो ।”
अर्यालले राजमार्गमा सडक अवरोध हुँदा त्यसको समाधानका लागि जिल्ला प्रशासन कार्यालयका तर्फबाट पहल भइरहेको बताउनुभयो । उहाँले चाडपर्व लक्षित सुरक्षा व्यवस्था, सडक सुरक्षा तथा स्वास्थ्य सहायता कक्षसमेत राखिने जानकारी दिनुभयो । यसका लागि स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरिने उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चाडपर्वलाई लक्षित गरी जिल्लामा विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि, अनलाइन ठगी, जुवातास तथा सडक दुर्घटना नियन्त्रणका लागि प्रहरी र ट्राफिक प्रहरी गरी ७९७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उहाँले पिकेट ड्युटी, गस्ती, मोबाइल गस्ती, आकस्मिक जाँच तथा लागुऔषध पहिचानका लागि विशेष टोली परिचालन गरिने बताउनुभयो । चाडपर्वमा घर छाडेर यात्रा गर्दा बहुमूल्य गरगहना तथा नगद घरमा नराख्न, सम्भव भए बैंकको लकरमा सुरक्षित राख्न र घरको सुरक्षाका लागि विश्वासिलो छिमेकीलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।
सुरक्षा सतर्कताबारे जोड दिँदै प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो, “चाडपर्वका समयमा हुन सक्ने सानातिना घटना, अनलाइन ठगी तथा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै हामीले सुरक्षाकर्मी परिचालन गरेका छौँ । नागरिकको जीवन र सम्पत्तिको सुरक्षाका लागि प्रहरी २४सै घण्टा उच्च सतर्कताका साथ खटिनेछ । बहुमूल्य धनमाल बैंकको लकरमा राखौँ र यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला ।”
यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने भएकाले सडक अनुशासन कायम गर्न चालक, सहचालक र यातायात व्यवसायी जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
हालैको अविरल वर्षा तथा बाढीपहिरोका कारण विभिन्न राजमार्ग प्रभावित भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन पनि उहाँले आग्रह गर्नुभयो । सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु नराख्न तथा चालकले जिम्मेवारीपूर्वक सवारी चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
चालक तथा यात्रुको दायित्वबारे प्रहरी निरीक्षक थापाले भन्नुभयो, “चाडपर्वको खुसी घरसम्म पुर्याऔँ, यात्रालाई जोखिममा नपारौँ । सुरक्षित यात्रा हाम्रो प्रतिबद्धता हो भने यात्रुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । चालक साथीहरूले गाडीको स्टेरिङमा धेरै परिवारको खुसी, भरोसा र भविष्य अडिएको हुन्छ भन्ने बुझेर जिम्मेवारीपूर्वक सवारी चलाउनुहुन आग्रह गर्दछु ।”
चितवनमा केन्द्रीय बसपार्क, पोखरा बसपार्क (नारायणगढ), पुलचोक, मुग्लिन, चनौली, टाँडी, खैरहनी र लोथरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ती कक्षबाट यात्रा सहजीकरण, आवश्यक सूचना तथा सुरक्षासम्बन्धी सहयोग प्राप्त गर्न सक्नेछन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |