
चितवन, १९ असोजः चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले स्तन क्यान्सर जागरुकता महिनाका अवसरमा विशेष स्वास्थ्य अभियान सञ्चालन गरेको छ । यसअन्तर्गत स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क परामर्श तथा जाँचका साथै म्यामोग्राम (स्तनको एक्सरे) र ब्रेस्ट यूएसजी (स्तनको भिडियो एक्सरे) मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
हरेक वर्ष अक्टोबरलाई स्तन क्यान्सर जागरुकता महिनाका रूपमा मनाउने गरिन्छ । सिएमसी क्यान्सर इन्स्टिच्युटले पनि महिलामा स्तन क्यान्सरसम्बन्धी सचेतना बढाउने तथा समयमै स्वास्थ्य परीक्षण गराउने वातावरण बनाउन विशेष कार्यक्रम सञ्चालन गरिएको सिएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियानअन्तर्गत स्तन क्यान्सरसँग सम्बन्धित समस्याका विषयमा निःशुल्क चिकित्सकीय परामर्श उपलब्ध हुनेछ । त्यस्तै, यससँग सम्बन्धित आवश्यक जाँच गराउने व्यवस्था पनि गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानका क्रममा आवश्यक देखिएका महिलाको म्यामोग्राम र ब्रेस्ट यूएसजीमा ५० प्रतिशत छुट उपलब्ध गराइएको छ ।
स्तनमा देखिने असामान्य परिवर्तन तथा क्यान्सरको सम्भावनासम्बन्धी परीक्षणका लागि प्रयोग हुने यी जाँचमा छुटको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गर्न चाहने महिलालाई सहज भएको मुख कार्यकारी अधिकृत देवकोटाले जानकारी दिनुभयो । सिएमसी क्यान्सर इन्स्टिच्युटले असोज १५ गतेदेखि कात्तिक १३ गतेसम्म अर्थात् अक्टोबर १ देखि ३० गतेसम्म यो विशेष अभियान सञ्चालन गर्ने जनाएको छ ।
स्तन क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक भएकाले यससम्बन्धी सचेतना, समयमै परीक्षण र आवश्यक परामर्शलाई अभियानले प्राथमिकता दिएको छ ।
स्तनमा गाँठो देखिनु, आकार वा स्वरूपमा असामान्य परिवर्तन आउनु, निप्पलमा असामान्य परिवर्तन हुनुजस्ता समस्या देखिएमा स्वास्थ्यकर्मीको परामर्श लिनु महत्वपूर्ण मानिने चिकित्सकहरू बताउँछन् । यस्ता समस्या नदेखिए पनि आफ्नो स्वास्थ्य अवस्थाअनुसार नियमित परीक्षण र चिकित्सकीय परामर्शले रोगको जोखिम पहिचान गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |