
रौतहट, १६ असोजः शसस्त्र प्रहरी बलले बौधीमाई नगरपालिका–७ स्थित बङ्कुल भन्सारसँगैको धानखेत क्षेत्रबाट मदिरामा प्रयोग हुने एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर आज बरामद गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक अचुत सुबेदीको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्तःशुल्क स्टिकर सीमा नजिक धानखेतबाट बरामद गरेको हो । टोली प्रमुख सुवेदीले आज अपराह्न सामानसहितको कार्टुन टाउकोमा राखी नेपालतर्फ आउँदै गरेका दुई व्यक्ति गस्तीमा रहेका प्रहरीलाई देख्नासाथ कार्टुन फाली भारततर्फ भागेको बताउनुभयो । सीमा क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न ती व्यक्तिले फालेको कार्टुनभित्र उक्त परिमाणको स्टिकर भेटिएको उहाँले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीका अनुसार छ वटा रोलसहितको बरामद स्टिकर नेपाल सरकार आन्तरिक राजस्व विभागबाट जारी गरिने जस्तै ५० युपी १८० एमएल क्षमताको मदिराजन्य बोतलमा टाँस गर्न प्रयोग हुने किसिमको छ ।
बरामद स्टिकरका बारेमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाउने प्रक्रिया अघिबढेको सशस्त्र प्रहरीले जनाएको छ ।
गौर भन्सार कार्यालयका अनुसार ५० यूपी १८० एमएल मदिरामा प्रतिस्टिकर ८८ रुपैयाँ २० पैसा अन्तःशुल्क लाग्ने कानुनी व्यवस्था रहेको छ ।
बरामद भएका सबै स्टिकर अवैध रूपमा मदिराका बोतलमा प्रयोग भएको भए मुलुकको राजश्वमा रु एक करोड पाँच लाख ८४ हजार बराबरको नोक्सानी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
रौतहट जिल्लाका सशस्त्र प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक चेतराज जोशीले स्टिकर बरामदसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको र सामान छोडी भाग्ने दुई जनाको खोजीका लागि भारतीय पक्षसँग आवश्यक समन्वय भइरहेको बताउनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |