
सानैदेखि हामीलाई एउटा कुरा बारम्बार सिकाइन्छ— “राम्रो मान्छे बन ।” यो वाक्य हाम्रो परिवार, विद्यालय र समाजको सबैभन्दा परिचित उपदेश हो । राम्रोसँग पढ, ठूलाको कुरा मान, सबैसँग घुलमिल भएर बस, सरकारी जागिर खाऊ, अरूले जस्तै जीवन बिताऊ । सफलताको परिभाषा पनि मानौँ यही सीमाभित्र कोरिएको छ ।
अझ तुलना गर्ने हाम्रो समाजको पुरानो बानी नै हो । “शर्माको छोराले सरकारी जागिर खायो“, “तिवारीको छोराले लोकसेवा पास ग¥यो“, “फलानो कति मिलनसार छ“ भन्ने उदाहरण दिँदै हामीलाई उनीहरूजस्तै बन्न प्रेरित गरिन्छ । बिस्तारै हाम्रो मनोविज्ञान यस्तो बन्दै जान्छ कि समाजले तयार पारेको साँघुरो ढाँचाभन्दा बाहिर निस्कनु नै गलत हो भन्ने लाग्न थाल्छ ।
म यो लेख पढिरहनुभएका प्रत्येकलाई एउटा प्रश्न सोध्न चाहन्छु “यदि सबैले एउटै बाटो हिँडे भने नयाँ बाटो कसले बनाउने ?” यसको उत्तर कमेन्टमा लेख्नुहोला ।
अब मेरो विचार राख्न चाहन्छु ।
मेरो विचारमा, सफल हुनका लागि कहिलेकाहीँ समाजले दिएको “राम्रो” को परिभाषाभन्दा बाहिर निस्कनुपर्ने पनि हुन्छ । “खराब” बन्नुपर्ने हुन्छ, “गलत” बन्नुपर्ने हुन्छ , म जस्तै…………. यसको अर्थ खराब आचरण अपनाउनु भने होइन । कसैलाई दुःख दिनु, अपमान गर्नु, हिंसा गर्नु वा बेइमानी गर्नु त झन् हुँदै होइन । मैले भनेको “गलत” बन्नुको अर्थ भीडले बनाएको सीमित सोचलाई चुनौती दिनु हो ।
हाम्रो समाजमा अधिकांश मानिसलाई राम्रो कर्मचारी बन्न सिकाइन्छ, तर राम्रो उद्यमी, सिर्जनशील व्यक्ति वा नयाँ सोच भएका व्यक्तित्व बन्न प्रेरित गरिँदैन । सबैजना जागिरको लाइनमा उभिएका देखिन्छन्, तर रोजगारी सिर्जना गर्ने सपना देख्नेहरूलाई धेरैले अव्यावहारिक ठान्छन् । वास्तवमा, फरक उपलब्धि हासिल गर्न फरक बाटो रोज्नैपर्छ ।
दुर्भाग्यवश, हामी साना कुरामा अत्यधिक समय खर्च गर्छौं, तर ठूला सपना देख्न डराउँछौं । बजारमा धनियाँको मूल्य पाँच रुपैयाँ सस्तो गराउन घण्टौँ बार्गेनिङ गर्छौं, तर करोडौँ मूल्यका अवसरहरू गुमाइरहेका हुन्छौँ । परिवारमा पनि प्रायः “जागिर गर” भन्ने सल्लाह धेरै सुनिन्छ, तर “इमानदारीपूर्वक आफ्नो रुचिको काम गर” भन्ने प्रेरणा विरलै पाइन्छ ।
समाजले सबैसँग घुलमिल भएर बस्न सिकाउँछ । तर सधैँ सबैलाई खुसी पार्ने प्रयासले मानिसलाई आफ्नै लक्ष्यबाट टाढा पु¥याउन सक्छ । कहिलेकाहीँ एकान्त, एकाग्रता र निरन्तर मेहनत नै सफलताको आधार बन्छ । यदि आफ्नो सपनाका लागि रातभर काम गरेर बिहान अबेरसम्म सुत्दा कसैले तपाईंलाई अल्छी वा असामाजिक भन्छ भने भन्न दिनुहोस् । त्यो आलोचनाले तपाईंको भविष्य निर्धारण गर्दैन ।
इतिहास हेर्ने हो भने, अधिकांश सफल मानिसहरू कुनै न कुनै समयमा आलोचित भएका थिए । उनीहरूलाई फरक सोचेकै कारण गलत भनिएको थियो । तर उनीहरूले आफ्नो उद्देश्य छोडेनन् । किनभने सही र गलतको अन्तिम निर्णय भीडले गर्दैन, समयले गर्छ ।
हामीले एउटा कुरा बुझ्नुपर्छ “सबैलाई खुसी पार्ने कुनै पनि व्यक्ति, विचार वा वस्तु संसारमा छैन। एउटै गिलासलाई कसैले आधा भरिएको देख्छ, कसैले आधा खाली। दृष्टिकोण फरक हुन्छ ।” त्यसैले अरूको मूल्याङ्कनभन्दा आफ्नो उद्देश्य स्पष्ट हुनु धेरै महत्वपूर्ण हुन्छ ।
यदि कुनै सम्बन्धमा सम्मानभन्दा अपमान बढी छ भने त्यसलाई जबरजस्ती जोगाइराख्नु आवश्यक छैन । कुनै कार्यक्रममा जान मन छैन भने केवल “समाजले के भन्छ ?” भन्ने डरले मात्र जानु पनि जरुरी छैन । कुनै जागिरमा आत्मसम्मान र सिर्जनशीलताको हत्या हुन्छ भने त्यस्तो जागिरमा अडिग रहिरहनु पनि बाध्यता हुनु हुँदैन । किनभने आफ्नो समय, ऊर्जा र आत्मसम्मानको मूल्य बुझ्नु परिपक्वता हो ।
नियमहरू समाजलाई व्यवस्थित बनाउन बनाइएका हुन्छन् । तर हरेक नियमले सबै मानिसका सपना पूरा गर्दैन । नयाँ सोच, नयाँ आविष्कार र नयाँ सम्भावना सधैँ स्थापित सीमाभन्दा बाहिर जन्मिएका हुन्छन् । त्यसैले आफ्नो जीवनको दिशा आफैँले तय गर्न सक्नुपर्छ ।
फेरि पनि भन्न चाहन्छु । मैले तपाइँलाई “खराब” बन्नु मात्र भन्न खोजेको हैन । मैले त आफ्नै विवेक प्रयोग गर्नु, अन्यायको विरोध गर्नु, आफ्नो आत्मसम्मान जोगाउनु, भीडको दबाबमा आफ्ना सपना नत्याग्नु र आफ्नै मूल्य तथा उद्देश्यअनुसार जीवन बाँच्नु भनेको ।
अन्ततः जिन्दगी हाम्रो आफ्नै हो । सफलता वा असफलताको जिम्मेवारी पनि अन्ततः हामीले नै वहन गर्नुपर्छ । त्यसैले अरूले बनाएको साँघुरो परिभाषाभित्र सीमित भएर होइन, आफ्नै मूल्य, उद्देश्य र क्षमताअनुसार जीवन निर्माण गर्नु नै साँचो साहस हो ।
अन्त्यमा यति मात्रै भन्न चाहन्छु
“म तिमीलाई कहिल्यै गलत भन्दिन प्यारो समाजको प्रतिष्ठित पात्र जसले मलाई ‘नगर, नबोल, नहेर, नबुझ, नलेख, नगा, नजा’ भने । तर म लेखिरहन्छु, सङ्गीत गरिरहन्छु, गीत गाइरहन्छु, पत्रकारिता गरिरहन्छु । तिमी जे सुकै भन । म मेरो सपनाका लागि धेरैपटक ‘गलत’ बनिसकेको छु, बनिरहेको छु, बनिरहन्छु ।”
हो, म मेरो सपनाका लागि धेरै ‘गलत’ बनिसकेको छु । सक्छौ भने, तिमी पनि आफ्नो सपनाका लागि भीडको नजरमा ‘गलत’ बन्ने साहस गर ।
प्रस्तुत भनाईहरु लेखकका निजी बिचारहरु हुन्, लेखक पत्रकार, कलाकार, साहित्यकार र संगितकर्मी हुनुहुन्छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |