
काठमाडौँ, १२ मङ्सिरः नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अन्तरराष्ट्रिय टेनिस महासङ्घ (आईटीएफ) को मेन्स वल्र्ड टेनिस टुरअन्तर्गत एम–१५ र एम–२५ प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाकिस्तान जाँदै हुनुहुन्छ ।
पाकिस्तानको इस्लामाबादमा एम–१५ प्रतियोगिता नोभेम्बर ३० देखि डिसेम्बर ६ सम्म र एम–२५ प्रतियोगिता डिसेम्बर ७ देखि १३ सम्म सञ्चालन हुनेछ । दुवै प्रतियोगिता पीटीएफ एसडीए टेनिस कम्प्लेक्सको हार्ड कोर्टमा हुनेछन् । प्रतियोगिताको पुरस्कार राशि क्रमशः १५ हजार र ३० हजार अमेरिकी डलर रहेको छ ।
खेलाडी बास्तोलाले हालै चीनको छेन्दुमा भएको अस्ट्रेलियन ओपन २०२७ एसिया–प्यासिफिक वाइल्डकार्ड प्लेअफमा नेपालको प्रतिनिधित्व गरेका थिए । त्यस प्रतिस्पर्धामा पुरुष एकल र युगल दुवै विधामा बाहिरिए पनि प्लेअफको मुख्य चरणमा पुग्ने पहिलो नेपाली खेलाडी बनेर उनले नेपाली टेनिसमा ऐतिहासिक उपलब्धि हासिल गरे ।
पुरुष युगलतर्फ थाइल्यान्डका जेम्स भान हर्जिलसँग जोडी बनाएका बास्तोला क्वार्टरफाइनलमा जापानका काइतो उएसुगी र ताकेरु युजुकीसँग ६–२, ६–२ ले पराजित भए । पुरुष एकलतर्फ अन्तिम १६ मा उनी जापानका युसुके कुसुहारासँग दुवै सेटमा ६–२ ले पराजित भएका थिए ।
वर्षाका कारण मङ्गलबारका खेल स्थगित भएपछि उनले बुधबार, नोभेम्बर २५ मा एकल र युगल दुवै विधामा खेले । प्रतियोगिता नोभेम्बर २३ देखि २८ सम्म छेन्दुस्थित सिचुआन अन्तरराष्ट्रिय टेनिस केन्द्रमा भइरहेको छ ।
पोखराका बास्तोलाले आठ वर्षको उमेरदेखि सुरु गरेका हुन् । उनका बुबा अनुजकुमार र आमा पद्मा दुवै पूर्वराष्ट्रिय ब्याडमिन्टन खेलाडी हुन् । परिवारको साथमा उनले पोखराको कोर्टबाट अभ्यास सुरु गरे; पछि बुबाले घर कम्पाउण्डमै अभ्यास गर्ने व्यवस्था मिलाइदिएका थिए ।
सन् २०१२ मा प्रशिक्षण र छात्रवृत्तिका लागि थाइल्यान्ड पुगेका उनले त्यहाँ दैनिक चारदेखि पाँच घण्टा अभ्यास गरे । पछि अमेरिकामा पढाइसँगै कलेज टेनिस खेले । उनी अमेरिकाको एनसीएए डिभिजन–१ मा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बने र २०२० मा व्यवसाय प्रशासनमा स्नातक पूरा गरे ।
बास्तोला चार संस्करणको एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो नेपाली टेनिस खेलाडी हुन् । सन् २०२३ मा आईटीएफको पुरुष विश्व वरीयतामा स्थान बनाउने पहिलो नेपाली पनि उनी नै बने । डेभिस कपमा नेपालका लागि पहिलो जित निकाल्नु र व्यावसायिक अन्तरराष्ट्रिय प्रतियोगितामा नियमित प्रतिस्पर्धा गर्नु उनका अन्य उपलब्धि हुन् ।
“नेपालको प्रतिनिधित्व गर्दै अस्ट्रेलियन ओपनमा स्थान बनाउन प्रतिस्पर्धा गर्न पाउनु मेरा लागि निकै अर्थपूर्ण रह्यो । साथ र हौसला दिनुहुने सबैलाई धन्यवाद । अब मेरो अर्को गन्तव्य इस्लामाबाद हो”, बास्तोलाले प्रतियोगितापछि भने । एसिया–प्यासिफिक वाइल्डकार्ड प्लेअफको एकल र युगल विधाका विजेताले सन् २०२७ को अस्ट्रेलियन ओपनको मुख्य चरणमा खेल्न वाइल्डकार्ड पाउनेछन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |