
काठमाडौँ, ११ मङ्सिरः नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशम्सीले नेपालसँगको द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्दै जलस्रोत, नवीकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार तथा दिगो विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न यूएई इच्छुक रहेको बताउनुभएको छ ।
यूएई स्थापनाको ५५औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल र यूएईबीचको सम्बन्ध मित्रता, पारस्परिक सम्मान, ऐक्यबद्धता र साझा हितमा आधारित रहेको उल्लेख गर्नुभयो ।
राजदूत अलशम्सीले दुई देशबीचको साझेदारीलाई थप विस्तार गर्दै दुवै मुलुकका जनता र राष्ट्रको साझा आकांक्षा पूरा गर्न सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्यका नयाँ सम्भावना रहेको बताउनुभयो । नेपालमा प्राकृतिक विपद्का समयमा यूएईले देखाउँदै आएको मानवीय सहयोग र ऐक्यबद्धताले दुई देशबीचको सम्बन्धको गहिराइ प्रतिबिम्बित गरेको उहाँको भनाइ थियो ।
सन् २०१५को भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्लो समयका बाढीपहिरोका घटनामा यूएईले नेपाललाई मानवीय तथा राहत सहयोग उपलब्ध गराएको स्मरण गर्दै उहाँले विपद् प्रभावित समुदायको सहयोगका लागि एक करोड अमेरिकी डलर विनियोजन गरिएको र करिब २२० टन राहत सामग्रीसहितका पाँचवटा विमान नेपाल पठाइएको जानकारी दिनुभयो । त्यसैगरी, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग पु¥याउन थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको उहाँले बताउनुभयो ।
यूएईमा बसोबास गर्ने नेपाली समुदाय दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण सेतु रहेको उल्लेख गर्दै राजदूत अलशम्सीले नेपाली समुदायले यूएईको विकासमा सक्रिय योगदान पु¥याउँदै आएको बताउनुभयो । यसले दुई देशका जनताबीचको मित्रता, आपसी समझदारी र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाएको उहाँको भनाइ थियो ।
अबुधाबीमा संयुक्त राष्ट्रसङ्घीय जल सम्मेलन राजदूत अलशम्सीले यूएई र गणतन्त्र सेनेगलको साझेदारीमा आगामी डिसेम्बर ८ देखि १० सम्म अबुधाबीमा सन् २०२६ को संयुक्त राष्ट्रसङ्घीय जल सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
उक्त सम्मेलन दिगो विकास लक्ष्य–६ अन्तर्गत सबैका लागि स्वच्छ पानी तथा सरसफाइको उपलब्धता र दिगो व्यवस्थापन सुनिश्चित गर्ने अन्तरराष्ट्रिय प्रयासलाई तीव्रता दिन महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । सम्मेलनले पानीको अभाव र जल सुरक्षासम्बन्धी चुनौती समाधानका लागि अनुभव आदानप्रदान, व्यावहारिक तथा नवीन समाधानको खोजी र अन्तरराष्ट्रिय साझेदारी विस्तार गर्ने अवसर प्रदान गर्ने उहाँको विश्वास थियो ।
जलस्रोतको क्षेत्रमा नेपालको अनुभव र विशेषज्ञता अन्तर्राष्ट्रिय सहकार्यका लागि महत्त्वपूर्ण हुनसक्ने उल्लेख गर्दै उहाँले सम्मेलनमा नेपालसहित सबै मुलुकको सक्रिय सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो ।
सन् २०२६ ‘परिवार वर्ष’ यूएईको ५५औँ स्थापना दिवसका अवसरमा राजदूत अलशम्सीले आफ्नो देशको विकास यात्रा, अन्तरराष्ट्रिय सम्बन्ध र उपलब्धिबारे चर्चा गर्नुभयो । उहाँले यूएईले अन्तरराष्ट्रिय मञ्चमा सक्रिय तथा विश्वासिलो साझेदारका रूपमा आफूलाई स्थापित गर्दै विकास, सहिष्णुता, शान्तिपूर्ण सहअस्तित्व र राष्ट्रबीचको सहकार्यलाई प्राथमिकता दिएको बताउनुभयो ।
यूएईको नेतृत्वले सन् २०२६ लाई ‘परिवार वर्ष’ घोषणा गरेको जानकारी दिँदै उहाँले ‘विकास र अपनत्व’ भन्ने मूल नाराले पारिवारिक सम्बन्ध सुदृढीकरण, राष्ट्रिय पहिचान र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको उल्लेख गर्नुभयो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव समुपस्थित हुनुहुन्थ्यो । यसैगरी समारोहमा यहाँस्थित विभिन्न मुलुकका कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारीलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |