
म्याग्दी, ११ मङ्सिरः म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ ।
पूर्वाधार विकास कार्यालयले यस सडकको मालिका गाउँपालिका–७ बिमको लुरबाङ–दुले–नराले–अर्गला–बेँसी खण्डमा फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार, टेवा पर्खाल, नाली, ग्राभेल र ढलान गर्न आयोजना सञ्चालन गरेको हो ।
यो सडक म्याग्दी र राहुघाट करिडोरका वस्तीलाई जोड्ने चक्रपथ मानिएको छ । योजना निर्माणका लागि २०८३ असार २४ गते सर्वशक्ति–महाशय निर्माण सेवाले रु तीन करोड ६२ लाख ६१ हजार ३११ मा ठेक्का सम्झौता गरेको थियो ।
विसं २०८४ असार २४ गतेसम्म ठेक्काको म्याद रहेको छ । निर्माण कम्पनीले पहिलो चरणमा नराले खण्डमा सडक फराकिलो बनाउने र ग्यावियन पर्खाल निर्माणको काम गरिरहेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकले जानकारी दिनुभयो ।
योजनामार्फत मालिका गाउँपालिका–७ लुरबाङदेखि धवलागिरि गाउँपालिका–६ बेँसीसम्म विभिन्न ठाउँमा ८६५ मिटर ढलान, एक हजार ३२६ घनमिटर ग्यावियन र एक हजार २२३ घनमिटर मेसिनरी पर्खाल निर्माण हुनेछ । आठ सय ६५ मिटर दूरीमा पक्की नाली निर्माण गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
प्रस्तावित रघुगङ्गा–म्याग्दी चक्रपथ सडकमा पर्ने धवलागिरि गाउँपालिका–५ मल्कबाङ र भेडिखाल्डा खण्डमा मार्ग खुल्न बाँकी छ । धवलागिरि गाउँपालिकाले गत वर्षदेखि मल्कबाङ–भेडिखाल्डा सडक मार्ग निर्माणका लागि सुरु गरेको योजना चालु आर्थिक वर्षमा सम्पन्न हुने चरणमा छ ।
बेनी नगरपालिका, मङ्गला, मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकालाई समेट्ने राहुघाट–म्याग्दी चक्रपथको अवधारणाअनुसार सडक स्तरोन्नतिको सुरुआत गरिएको म्याग्दी–१ (२)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुबिन)ले बताउनुभयो ।
उहाँका अनुसार बेनी–दरवाङ खण्ड प्रदेश सरकारमार्फत स्तरोन्नतिको अन्तिम चरणमा छ भने बेनी–पाखापानी सडकको बेनी–तोरीपानी खण्डमा स्तरोन्नति भएको छ । दीर्घकालीन महत्त्व राख्ने चक्रपथ सडक योजनालाई म्याग्दीको प्राथमिकताप्राप्त र गौरवको योजनाका रूपमा अघि बढाउन सङ्घीय सरकारमा पहल गरिएको प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |