
नारायणगढ (चितवन), ११ मङ्सिरः कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीको पहलमा भरतपुरमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना गरिएको छ ।
नेपालका प्राकृतिक जलस्रोतमा पाइने जङ्गली ‘जेब्रा फिस’ को पहिचान, आनुवंशिक विविधताको अध्ययन, संरक्षण तथा आधुनिक जैविक अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–७ मा नेपाल जेब्रा फिस इन नेचर सेन्टर (एनजिन्क) स्थापना गरिएको हो । केन्द्रको आज एक समारोहबीच उद्घाटन गरिएको छ ।
केन्द्रले नेपालका जङ्गली ‘जेब्रा फिस’ सम्बन्धी अनुसन्धानलाई अन्तरराष्ट्रिय वैज्ञानिक तथा अनुसन्धान संस्थासँग जोड्दै मानव स्वास्थ्य, कृषि, पशु स्वास्थ्य, वातावरण, जल प्रदूषण र जैविक विविधतासम्बन्धी अध्ययन अघि बढाउने लक्ष्य लिएको छ ।
केन्द्रको उद्घाटन गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ऋषिराम कट्टेलले विश्वविद्यालयले पठनपाठनसँगै अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले जेब्राफिस अनुसन्धानमा रुचि राख्ने युवाको पहललाई विश्वविद्यालयले अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, वन तथा वातावरण विषयका प्राध्यापक र विद्यार्थीलाई अनुसन्धानमा जोड्नुका साथै मानव स्वास्थ्यसँग सम्बन्धित विश्वविद्यालय तथा अस्पतालसँग सहकार्य गर्न सके अनुसन्धानको दायरा फराकिलो हुने उहाँको भनाइ थियो ।
उहाँले जेब्राफिस आकारमा सानो भए पनि मानव स्वास्थ्य र रोगसम्बन्धी अध्ययनका लागि महत्त्वपूर्ण अनुसन्धान जीव भएको बताउनुभयो । मानवसँग करिब ७० प्रतिशत जीन समानता रहेको जेब्राफिस भ्रुण विकास, आनुवंशिक रोग, औषधि परीक्षण तथा विभिन्न जैविक प्रक्रियाको अध्ययनमा उपयोगी हुने उहाँले उल्लेख गर्नुभयो ।
नेपालको जैविक विविधता, जडीबुटी, जलस्रोत तथा प्राकृतिक वनस्पतिको वैज्ञानिक अध्ययनमा समेत जेब्रा फिसको प्रयोग गर्न सकिने भएकाले केन्द्रलाई राष्ट्रियस्तरको अनुसन्धान संस्थाका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राडा पुष्करबहादुर पालले जेब्रा फिस अनुसन्धान नेपालको जैविक विविधता र वैज्ञानिक अनुसन्धानका लागि महत्त्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तन, जल प्रदूषण तथा वातावरणीय प्रभावले जीवहरूको स्वास्थ्य र रोग उत्पन्न गर्ने सूक्ष्मजीवमा समेत परिवर्तन ल्याइरहेको उल्लेख गर्नुभयो ।
औषधि तथा रोगसम्बन्धी अनुसन्धानका लागि वैज्ञानिक अध्ययन आवश्यक रहेको बताउँदै उहाँले जेब्रा फिसको पारदर्शी भ्रुण, छिटो विकास हुने प्रक्रिया र प्रयोगशालामा सहज रूपमा प्रजनन गराउन सकिने विशेषताका कारण यसको अनुसन्धानात्मक उपयोग बढ्दै गएको बताउनुभयो ।
दक्षिण एसिया जेब्रा फिसको प्राकृतिक उत्पत्ति तथा बासस्थान क्षेत्र भए पनि नेपालमा यसको प्रजातिगत विविधता र आनुवंशिक अवस्थाबारे पर्याप्त अध्ययन हुन नसकेको उहाँले बताउनुभयो । सरकारी प्रक्रियागत जटिलता र अनुसन्धानमा आवश्यक सहकार्यको अभावले नयाँ वैज्ञानिक पहललाई चुनौती दिइरहेको उल्लेख गर्दै उहाँले केन्द्रलाई व्यावहारिक अनुसन्धानमा केन्द्रित गरी अन्य जैविक विविधतासम्बन्धी विषयसमेत समेटेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
विश्वविद्यालयका पूर्वडीन प्राडा अर्जुनकुमार श्रेष्ठले अनुसन्धान र नवप्रवर्तन विकासका आधार भएको उल्लेख गर्दै युवाको सक्रियतामा स्थापना भएको केन्द्रले भविष्यमा अन्य वनस्पति तथा कृषि उपजसमेत अनुसन्धानको दायरामा समेट्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख देवी घिमिरेले जेब्राफिससँगै नेपालमा पाइने अन्य माछाका प्रजातिलाई पनि अनुसन्धानमा समेट्नुपर्ने बताउनुभयो । केन्द्रले विश्वविद्यालयका विद्यार्थी, विशेषगरी मत्स्य विज्ञानका विद्यार्थीलाई प्रयोगात्मक ज्ञान र अनुसन्धानको अवसर प्रदान गर्ने उहाँको भनाइ थियो ।
केन्द्रले अमेरिकाका युनिभर्सिटी अफ ओरेगन र ड्युक युनिभर्सिटी तथा नेपालका कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयलगायतका अनुसन्धान संस्थासँग सहकार्य विस्तार गरेको जनाएको छ ।
गत वर्ष अमेरिकी विश्वविद्यालयका अनुसन्धानकर्ताले चितवनका प्राकृतिक जलस्रोतमा पाइने जङ्गली जेब्रा फिसको नमुना सङ्कलन गरी प्रारम्भिक अनुसन्धान गरेका थिए । आगामी मार्चमा अमेरिकी अनुसन्धानकर्ता तथा प्रतिनिधि पुनः नेपाल आउने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष प्रशान्तकान्त दाहालले बताउनुभयो ।
उक्त भ्रमणले नेपाली विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्तालाई अन्तरराष्ट्रिय प्रयोगशाला र वैज्ञानिकसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो ।
केन्द्रका सचिव सुजन चापागाईंले नेपालमै स्वतन्त्र अनुसन्धान प्रयोगशाला स्थापना गरी जेब्रा फिसको आनुवंशिक तहमा अनुसन्धान अघि बढाउने दीर्घकालीन लक्ष्य रहेको बताउनुभयो । नेपालका नदी, खोला, ताल तथा अन्य प्राकृतिक जलस्रोतमा पाइने जलीय जीवको आनुवंशिक विविधताको अभिलेखीकरण, संरक्षण र वैज्ञानिक अध्ययनलाई केन्द्रले प्राथमिकता दिने उहाँको भनाइ थियो ।
कार्यक्रममा विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा उज्ज्वल तिवारी, उपप्राध्यापक मिलन घिमिरे, सरोज रेग्मी, चेतराज पाठक, भरतपुर महानगरपालिकाका पशु चिकित्सक डा रविन बस्ताकोटी, रत्ननगर नगरपालिकाका कृषि प्राविधिक अङ्कित लुइँटेल तथा समाजसेवी बोनोद ढकाललगायत सहभागी हुनुहुन्थ्यो । विश्वविद्यालयका विद्यार्थी डा दिवस ढुङ्गानाले केन्द्रका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |