
काठमाडौँ, ९ मङ्सिरः बाबुआमाको संरक्षणमा नरहेका तथा वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको वास्तविक अवस्था पहिचान गरी उनीहरूको संरक्षण र सुरक्षालाई प्रभावकारी बनाउन तथ्याङ्क सङ्कलन हुने भएको छ ।
बाल स्याहार केन्द्रमा रहेका बालबालिकाको तथ्याङ्क उपलब्ध भए पनि त्यस्ता केन्द्रभन्दा बाहिर रहेका हजारौँ बालबालिकाको अवस्था र उनीहरूले प्राप्त गरिरहेको हेरचाहबारे राज्यलाई पर्याप्त जानकारीको अभाव रहेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले आज आयोजना गरेको बालबालिका र वैकल्पिक हेरचाहसम्बन्धी क्रियाकलापको अन्तरराष्ट्रिय वर्गीकरण विषयक अन्तरक्रियामा अन्तरराष्ट्रिय मान्यता अनुसार वर्गीकरण र तथ्याङ्क सङ्कलन गरिने जानकारी दिइएको हो ।
कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले हरेक बालबालिकाले जहाँ रहे पनि बालमैत्री वातावरणमा हुर्कन पाउनुपर्ने बताउनुभयो । “सुरक्षित र पारिवारिक वातावरणमा हुर्कन पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । यसको संरक्षण गर्नु केवल मानवीय संवेदना मात्र होइन”, मन्त्री वादीले भन्नुभयो, “यो न्यायपूर्ण, समानतामूलक र समृद्ध समाज निर्माणको अनिवार्य आधारशिला हो ।”
राष्ट्रिय योजना आयोगका सदस्य डा रेशु अर्याल ढुङ्गानाले बाबुआमाको संरक्षणमा नरहेका बालबालिकाको तथ्याङ्क सङ्कलन केन्द्रमा मात्र सीमित नराखी प्रत्येक स्थानीय तहसम्म पुर्याउनुपर्ने बताउनुभयो । नेपालले बालबालिकासम्बन्धी विभिन्न अन्तरराष्ट्रिय अभिसन्धिमा हस्ताक्षर गरिसकेकाले तिनै अभिसन्धिका आधारमा बालबालिकाको तथ्याङ्क सङ्कलन र वर्गीकरण गर्नुपर्ने उहाँको भनाइ थियो ।
हामीले बालबालिकाको तथ्याङ्कमा मात्र होइन, उनीहरूको सुरक्षामा समेत ध्यान दिनुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको विस्तृत तथ्याङ्क सङ्कलन र वर्गीकरण महत्वपूर्ण छ ।”
प्रमुख तथ्याङ्क अधिकारी लक्ष्मी बस्नेतले वैकल्पिक हेरचाहको तुलनायोग्य तथ्याङ्कीय प्रणाली विकास भएपछि कुन क्षेत्रका बालबालिकालाई थप हेरचाह र संरक्षण आवश्यक छ भन्ने पहिचान गर्न सहज हुने बताउनुभयो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक पृथ्वीविजय सिजापतीले वैकल्पिक हेरचाह र यसका अन्तरराष्ट्रिय अभ्यासबारे कार्यपत्र प्रस्तुत गर्दै वैकल्पिक हेरचाहको अन्तरराष्ट्रिय वर्गीकरणमा नौ वटा श्रेणी रहेको जानकारी दिनुभयो । नेपालमा हालसम्म उक्त वर्गीकरणअनुसार तथ्याङ्क उपलब्ध नहुँदा वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको वास्तविक अवस्था पहिचान गर्न कठिन भएको उहाँले बताउनुभयो ।
कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेले वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको तथ्याङ्क सङ्कलनलाई तथ्याङ्क प्रणालीमा महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनगणनाले करिब साढे तीन लाख बालबालिका वैकल्पिक हेरचाहमा रहेको देखाए पनि उनीहरूको वास्तविक अवस्था स्पष्ट नभएकाले तथ्याङ्कलाई नयाँ ढङ्गले वर्गीकरण र कोडिङ गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
युनिसेफ नेपालकी उपप्रतिनिधि जी ह्यु रहले प्रत्येक बालबालिकालाई तथ्याङ्कीय प्रणालीमा समेट्दै उनीहरूको अवस्था पहिचान गर्ने राष्ट्रिय तथ्याङ्क प्रणाली निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा राष्ट्रिय तथ्याङ्क कार्यालयलाई धन्यवाद दिनुभयो ।
उहाँले वैकल्पिक हेरचाहसम्बन्धी अन्तररष्ट्रिय वर्गीकरण प्रणालीलाई चरणबद्ध रूपमा राष्ट्रिय तथ्याङ्क तथा प्रशासनिक सूचना प्रणालीमा समावेश गर्ने प्रक्रिया महत्वपूर्ण राष्ट्रिय यात्राको सुरुआत भएको बताउनुभयो ।
गत मार्चमा संयुक्त राष्ट्रसङ्घीय तथ्याङ्क आयोगले बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तरराष्ट्रिय वर्गीकरण (आइकेयर)लाई अन्तररााष्ट्रिय तथ्याङ्कीय मापदण्डका रूपमा अनुमोदन गरेको थियो । यससँगै नेपालसहित विश्वका विभिन्न मुलुकले अभिभावकीय हेरचाहबाहिर रहेका वा वैकल्पिक हेरचाहमा रहेका बालबालिकासम्बन्धी अवधारणा, परिभाषा र वर्गीकरणको साझा अन्तरराष्ट्रिय आधार प्राप्त गरेका छन् ।
बालबालिकाको हेरचाह तथा संरक्षणको मुख्य जिम्मेवारी महिला मन्त्रालयको भए पनि त्यससम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने काम राष्ट्रिय तथ्याङ्क कार्यालयले गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |