
काठमाडौँ, ८ मङ्सिरः करिब साढे ३०० वर्ष पुरानो चन्द्रविनायक तथा भैरवनाथ जात्रा आजदेखि काठमाडौँको चावहिल क्षेत्रमा सुरु भएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीया चार दिनसम्म पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा यो जात्रा मनाइन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले जात्रा सुरु गराएको विश्वास छ ।
जात्राको पहिलो दिन आज ‘मलजा नकेगु’ विधिअनुसार कुमार र कुमारीको पूजा गरी विनायकको प्रसाद खुवाइएको छ । चन्द्रविनायक काठमाडौँ उपत्यकाका चार विनायकमध्ये एक हुन् । धार्मिक मान्यताअनुसार चन्द्रविनायकलाई पशुपतिनाथका छोरा मानिन्छ ।
पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । पूर्णिमाका अवसरमा आज साँझ मन्दिर परिसरमा धुनी जगाइएको छ । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।
जात्रा समन्वय समितिका सदस्य राजु भारतीका अनुसार मार्गशीर्ष कृष्ण प्रतिपदाका दिन बुधबार बिहान चन्द्रविनायक र भैरवनाथको खट उठाइनेछ ।
जात्राको दोस्रो दिन गणेशलाई ‘हलमली’ अर्थात् मकै, गहुँ, मटमास, सखरखण्ड, पिँडालु, लड्डु, पेडा र लावा चढाउने परम्परा छ । चढाइएका सामग्री साँझ प्रसादका रूपमा जात्रालु तथा भक्तजनलाई वितरण गरिन्छ ।
त्यसै दिन चन्द्रविनायक र भैरवनाथका रथलाई मन्दिर वरपर परिक्रमा गराई गङ्गाहिटीमा स्नान गराउने विधि छ । स्नानपछि दुवै खटलाई साँझ चारुमती विहारमा लगेर राखिन्छ ।
मार्गशीर्ष कृष्ण द्वितीयाका दिन बिहीबार दुवै रथलाई पशुपतिनाथ मन्दिरमा लगेर पिताको दर्शन गराइन्छ । त्यसपछि पशुपतिदेखि चुच्चेपाटीसम्मका मूल चोकमा रथ घुमाउने परम्परा छ । साँझ चारुमती बहालमा रथ नचाएर टसी अर्थात् बिमिरो प्रसादका रूपमा वितरण गरिन्छ ।
मार्गशीर्ष कृष्ण तृतीयाका दिन शुक्रबार बिहान अमालकोट कचहरीका द्वारेले चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुनेछ । जात्रा सफलतापूर्वक सम्पन्न भएको खुसियालीमा शनिबार दिनभर चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरिनेछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |