
बनेपा (काभ्रे), ७ मङ्सिरः काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार महासत्त्वको त्याग र करुणाको किंवदन्तीसँग जोडिएको ऐतिहासिक नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ ।
कात्तिक शुक्ल चतुर्दशीदेखि प्रतिपदासम्म सञ्चालन हुने जात्राको पहिलो दिन आज राति दिवङ्गत पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गर्ने परम्परा रहेको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिनुभयो । भोलि मङ्गलबार कात्तिक शुक्ल पूर्णिमाका दिन मुख्य मेला तथा विशेष पूजाआजा हुनेछ ।
किंवदन्तीअनुसार तत्कालीन पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमार महासत्त्व एक दिन आफ्ना दाजुहरूसँग वनबिहारमा गएका थिए । गन्धमान पर्वतको जङ्गलमा पुगेका बेला उनीहरूले भोकले छटपटिएकी सुत्केरी बघिनी र उनका पाँच डमरु देखे । भोक र अशक्तताका कारण बघिनी आफ्नै डमरुलाई समेत खानुपर्ने अवस्थामा पुगेकी थिइन् ।
बघिनी र डमरुको पीडा देखेर द्रवित भएका महासत्त्वले दाजुहरूलाई अघि पठाएर आफू त्यहीँ बसे । बघिनीले सुरुमा उनको शरीर खान नसकेपछि राजकुमारले आफ्नो शरीरमा चोट पुर्याइ रगत बगाए । त्यसपछि आफ्नो शरीरको मासु अर्पण गरी बघिनी र पाँच डमरुको प्राण बचाएको धार्मिक विश्वास छ ।
राजकुमारको देह त्यागपछि उनका अवशेष सङ्कलन गरी सोही स्थानमा स्तूप निर्माण गरिएको किंवदन्ती छ । यही घटनासँग जोडिएर उक्त स्थान ‘नमोबुद्ध’ नामले चिनिन थालेको मानिन्छ । राजकुमारको त्याग र करुणाको स्मरणमा हरेक वर्ष जात्रा लाग्ने परम्परा छ । यस अवसरमा भक्तजनले पूजाआजा, दीप प्रज्ज्वलन तथा विभिन्न धार्मिक अनुष्ठान गर्ने गर्छन् ।
मेला अवधिमा ५० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार दर्शनार्थीको सहजता, यातायात व्यवस्थापन, सरसफाइ तथा शान्ति सुरक्षाका लागि नगरपालिका, नमोबुद्ध गुठी र स्थानीय सुरक्षा निकायबीच समन्वय गरी आवश्यक तयारी गरिएको छ । काभ्रेपलाञ्चोकसहित काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र धादिङलगायत जिल्लाबाट हजारौँ बौद्ध धर्मावलम्बी तथा आन्तरिक पर्यटक जात्रामा सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |