
काठमाडौँ, ३ मङ्सिरः गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित छ जनामाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले चार दिनको म्याद थप गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित छ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार पक्राउ पर्ने अन्यमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।
प्रवक्ता जबराले उनीहरूमाथि थप अनुसन्धान गर्न आज जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थपको अनुमति प्राप्त भएको जानकारी दिनुभयो ।
सिआइबीले मङ्सिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको थियो । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसँग ठगी गरी सङ्कलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिआइबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो । पक्राउ परेका छ जनामाथि ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |