
सुदूरपश्चिम, ३ मङ्सिरः स्थानीय मौलिक खानाका परिकारको संरक्षण, प्रवद्र्धनमार्फत सुदूरपश्चिमको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले कैलालीको धनगढीमा खाना महोत्सव आयोजना गरिने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा धनगढी उपमहानगरपालिका र होटल व्यवसायी सङ्घ कैलालीको संयुक्त आयोजनामा आगामी पुस १०, ११ र १२ मा तीनदिने महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।
उपमहानगर प्रमुख गोपाल हमालले महोत्सवमार्फत सुदूरपश्चिमका मौलिक खानपान तथा परम्परागत परिकारको संरक्षण र प्रचारप्रसार, स्थानीय परिकारलाई नयाँ पुस्तामाझ परिचित गराउने लक्ष्य राखिएको बताउनुभयो ।
उहाँले रैथाने खानाको महत्व र विशेषतालाई राष्ट्रियस्तरसम्म पु¥याउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको उल्लेख गर्नुभयो । उहाँले महोत्सवमार्फत स्थानीय मौलिक खानपानको प्रचारसँगै रोजगारी सिर्जना र पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने आफूहरु विश्वस्त रहेको बताउनुभयो ।
होटल व्यवसायी सङ्घका अध्यक्ष केशवदत्त पाण्डेयले महोत्सवले सुदूरपश्चिममा रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय सम्भावनालाई स्थानीय खानपान र विशिष्ट आतिथ्य सत्कारसँग जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय किसान, व्यवसायी तथा उत्पादकको सहभागिता सुनिश्चित गरी स्थानीय कृषि उपज, खाद्यसामग्री र उत्पादनलाई बजारसँग जोड्न महोत्सव उपयोगी हुने उहाँले बताउनुभयो ।
महोत्सवको संयोजन गरिरहेको सिद्धार्थ ग्रुप (सिद्धार्थ हस्पिटालिटी) कार्यकारी अधिकृत कृष्ण न्यौपानेले महोत्सवमा सामान्य होटल तथा रेस्टुरेन्टदेखि पाँचतारे होटलसम्मका विभिन्न स्वाद, गुणस्तर र शैलीका खानाका परिकार एउटै स्थानमा उपलब्ध गराइने बताउनुभयो ।
उहाँले सबै वर्ग, उमेर समूह तथा आर्थिक अवस्थाका उपभोक्ताको पहुँच सुनिश्चित गर्न परिकार सहुलियत दरमा उपलब्ध गराइने बताउनुभयो ।
महोत्सवको समन्वय, अनुगमन तथा आवश्यक सहजीकरणको जिम्मेवारी उपमहानगरपालिकाले लिने र महोत्सवस्थलको भौतिक संरचना निर्माण, स्टल व्यवस्थापन, टेन्ट, टेबल तथा कुर्सीको व्यवस्था, विद्युत्, खानेपानी, सरसफाइ, सजावट र प्रचारप्रसारलगायतका व्यवस्थापकीय काम होटल व्यवसायी सङ्घ कैलालीले गर्ने छ । महोत्सव धनगढीको जेनजीमार्गमा आयोजना हुनेछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |