
अन्ताल्या (टर्किए), १ मङ्सिरः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु प्रतिबद्धता कार्यान्वयनलाई प्रभावकारी र विश्वसनीय बनाउन पारदर्शिता तथा सरकारहरूको राजनीतिक प्रतिबद्धता अपरिहार्य रहेको बताउनुभएको छ ।
कोप–३१ अन्तर्गत आज आयोजित पारदर्शितासम्बन्धी मन्त्रिस्तरीय संवादमा उहाँले पारदर्शिताले सरकारका कामकारबाहीप्रति विश्वास बढाउनाका साथै जलवायु कार्यान्वयनका उपलब्धि र कमजोरी पहिचान गर्न सहयोग पुर्याउने बताउनुभयो ।
उहाँले पेरिस सम्झौताअन्तर्गतको उन्नत पारदर्शिता ढाँचा (इटिएफ) कार्यान्वयनमा धेरै पक्ष राष्ट्रले पहिलो पूर्ण चक्र पूरा गरिसकेको उल्लेख गर्दै दोस्रो द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बिटिआर) पेस गर्ने कोलम्बिया, टर्किए र कजाकिस्तानको प्रशंसा गर्नुभयो ।
हालसम्म प्राप्त पहिलो १३७ बिटिआरको संश्लेषण प्रतिवेदनअनुसार सन् २०२० को विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको करिब ६६ प्रतिशत हिस्सा ओगट्ने ६१ पक्ष राष्ट्रले राष्ट्रिय जलवायु प्रतिबद्धता (एनडिसी) कार्यान्वयनमा प्रगति गरेका छन् ।
यद्यपि, विश्वव्यापी जलवायु लक्ष्य हासिल गर्न हालको प्रगति पर्याप्त नरहेको उहाँले स्पष्ट पार्नुभयो । पारदर्शिता ढाँचाबाट प्राप्त तथ्याङ्क तथा विवरण दोस्रो विश्वव्यापी प्रगति समीक्षाका लागि महत्त्वपूर्ण आधार बन्ने उल्लेख गर्दै उहाँले यसले जलवायु कार्यान्वयनका उपलब्धि र बाँकी चुनौती पहिचान गर्न सघाउने बताउनुभयो ।
उहाँले पारदर्शिता ढाँचालाई प्रभावकारी बनाउन राष्ट्रिय प्राथमिकतामा राख्न, संस्थागत क्षमता सुदृढ गर्न र पर्याप्त स्रोतसाधन सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सबै पक्ष राष्ट्रलाई राजनीतिक प्रतिबद्धता कायम राख्न आग्रह गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी निकायले पक्ष राष्ट्रहरूको पारदर्शिता कार्यान्वयन क्षमता अभिवृद्धि गर्नाका साथै गैरराज्य पक्षको सहभागिता प्रवद्र्धनमा सहयोग जारी राख्ने उहाँले बताउनुभयो ।
नौ जलवायु सप्ताह आयोजकबीच सहकार्य
यसैबीच, पेरिस सम्झौताको कार्यान्वयनलाई तीव्रता दिन विश्वका नौ जलवायु सप्ताह आयोजकले साझा पहल र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
कोप–३१ का क्रममा आज आयोजित कार्यक्रममा बाकु, बैङ्कक, सिड्नी, न्युयोर्क, लन्डन, मुम्बई, रियो र साओ पाउलोका जलवायु सप्ताह आयोजकहरूले संयुक्त वक्तव्यमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् । क्लाइमेट च्याम्पियन्स टिम र जिरो वेस्ट फोरमले पनि उक्त पहललाई समर्थन गरेका छन् ।
संयुक्त पहलमार्फत सरकार, निजी क्षेत्र, लगानीकर्ता, नागरिक समाज, युवा तथा आदिवासी समुदायलाई जोडेर जलवायु परिवर्तनका व्यावहारिक समाधान अघि बढाउने उनीहरूले जनाएका छन् ।
सहकार्यका लागि ऊर्जा, उद्योग तथा यातायातको रूपान्तरण, वन तथा जैविक विविधता संरक्षण, कृषि तथा खाद्य प्रणालीमा सुधार, सहर तथा पूर्वाधारको उत्थानशीलता, मानव तथा सामाजिक विकास तथा जलवायु वित्त, प्रविधि र क्षमता विकासलाई छवटा साझा प्राथमिकता निर्धारण गरिएको छ ।
जलवायु सप्ताहहरूबीच अनुभव तथा असल अभ्यास आदानप्रदान, संयुक्त पहल प्रवद्र्धन र उपलब्धि तथा चुनौती सार्वजनिक गर्दै कोप सम्मेलनहरूबीच पनि जलवायु कार्यको गति कायम राख्ने आयोजकहरूको प्रतिबद्धता छ ।
स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय जलवायु प्रयासलाई विश्वव्यापी प्रक्रियासँग जोड्दै कोप–३२ र दोस्रो विश्वव्यापी प्रगति समीक्षासम्म सामूहिक उपलब्धि हासिल गर्ने लक्ष्यसमेत उनीहरूले राखेका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |