
बागमती, १ मङ्सिरः बागमती प्रदेश सरकारले हेटौँडा–भीमफेदी–काठमाडौँ सडकखण्डमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधारदेखि सवारी साधनको प्राविधिक परीक्षण र सुरक्षा निगरानीसम्मका नौ निर्णय गरेको छ ।
मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा आज बसेको बैठकले हेटौँडा–भीमफेदी–देउराली सडक चौडा गर्ने तथा आवश्यक पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरी काम अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले प्रदेशमा सवारी साधनको प्राविधिक अवस्था जाँच गर्न फिटनेस परीक्षण केन्द्र स्थापना गर्ने, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाए–नचलाएको जाँचको दायरा बढाउने र आवश्यक परीक्षण किटको व्यवस्था गर्ने निर्णय गरेको छ ।
त्यस्तै, मालवाहक सवारी साधनका लागि भीमफेदी–कोगटे वैकल्पिक मार्ग सञ्चालन गर्ने, सडक सुरक्षा सामग्रीको व्यवस्था गर्ने, देउरालीमा प्रहरी चौकी स्थापना गर्ने तथा सडक सुरक्षा जनचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
बागमती र मधेस प्रदेशबीच अन्तरप्रदेश सडक सुरक्षा व्यवस्थापनसम्बन्धी समन्वय बैठक गर्ने र विद्युतीय सवारी साधनमा कानुनले तोकेको सिट सङ्ख्याभन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।
निर्णय कार्यान्वयनका लागि सम्बन्धित प्रदेश मन्त्रालयका सचिवलाई जिम्मेवार बनाउँदै प्रत्येक १५ दिनमा प्रगति विवरण पेस गर्न निर्देशन दिइएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |