Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनुषा

आलेखः माटाका आकृतिमा जीवन्त मिथिलाको प्रेम र लोकसंस्कृति–सामाचकेवा पर्व

मिथिलाञ्चलका गाउँबस्तीमा साँझ पर्नासाथ हातमा रङ्गीचङ्गी माटाका आकृति राखिएको बाँसको डाला, त्यसमा बलिरहेको दियो र समूहमा गुञ्जिने लोकगीतले वातावरण नै उल्लासमय बन्छ ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (१८ घण्टा अघि)
आलेखः माटाका आकृतिमा जीवन्त मिथिलाको प्रेम र लोकसंस्कृति–सामाचकेवा पर्व

धनुषा, २८ कात्तिकः मिथिलाञ्चलका गाउँबस्तीमा साँझ पर्नासाथ हातमा रङ्गीचङ्गी माटाका आकृति राखिएको बाँसको डाला, त्यसमा बलिरहेको दियो र समूहमा गुञ्जिने लोकगीतले वातावरण नै उल्लासमय बन्छ । युवती तथा महिलाहरूको सामूहिक स्वरमा गुञ्जिने सामा–चकेवाका गीतले दाजुभाइप्रतिको माया, दिदीबहिनीबीचको आत्मीयता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मिथिलाको सांस्कृतिक परम्परालाई जीवन्त बनाउँछ ।

मिथिलाञ्चलमा छठ पर्वसँगै सुरु हुने सामा–चकेवा केवल मनोरञ्जन वा धार्मिक अनुष्ठान मात्र होइन, यो प्रेम, समर्पण, त्याग र पारिवारिक सम्बन्धको भावनात्मक अभिव्यक्ति पनि हो । माटोका विभिन्न आकृतिलाई पात्र बनाएर गीत र संवादमार्फत कथा प्रस्तुत गरिने यो परम्परा मिथिलाको विशिष्ट गीति लोकनाट्यका रूपमा परिचित छ ।

कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने सामा–चकेवा पर्व पूर्णिमासम्म ११ दिन मनाइन्छ । यस अवधिमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरू राति समूहमा भेला भएर सामा–चकेवा खेल्ने गर्छन् । उनीहरूले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै परम्परागत गीत गाउँछन् ।

पर्वको पहिलो दिन महिलाहरूले दाजुभाइको हातबाट माटो खनेर ल्याउने परम्परा छ । त्यही माटोबाट सामा, चकेवा, चुगला, सतभइया, वनतितर, झाँझी कुकुरलगायत विभिन्न पात्रका आकृति बनाइन्छन् । माटाका ती आकृति सुकाएपछि विभिन्न रङले सजाएर बाँसको डालामा राखिन्छ । राति दियो बालेर ती आकृति गाउँका चौक, चौराहा, दोबाटो तथा सार्वजनिक स्थानमा लगिन्छन् । त्यसपछि सामूहिक रूपमा गीत गाउने, नाच्ने र माटाका पात्रलाई संवादमार्फत जीवन्त बनाउने गरिन्छ ।

मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष तथा संस्कृतिविद् रामभरोस कापडीका अनुसार सामा–चकेवा पर्व दिदीबहिनीले दाजुभाइको दीर्घायु र समृद्धिका लागि गर्ने सांस्कृतिक अनुष्ठान हो । यसमा गीत, सङ्गीत, नाटकीय प्रस्तुति र लोकविश्वासको सुन्दर संयोजन रहेको छ । उहाँका अनुसार अन्य लोकनाट्यमा मानिसले पात्रका रूपमा अभिनय गर्छन् भने सामा–चकेवामा माटाका आकृतिलाई पात्र बनाएर महिलाहरूले गीत र संवादमार्फत कथा प्रस्तुत गर्छन् । यस क्रममा ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ र ‘सामचको सामचको अइहा हो, अइहा हो, गुँढ खेतमे भसिया हो’ जस्ता लोकगीत गाइन्छन् । यी गीतमा दाजुभाइप्रतिको माया, पारिवारिक सम्बन्ध, सामाजिक जीवन र प्रकृतिप्रतिको आत्मीयता अभिव्यक्त भएको पाइन्छ ।

माटाका पात्रमा जीवन्त हुन्छ लोकनाट्य

सामा–चकेवा पर्वको सबैभन्दा विशिष्ट पक्ष माटाका आकृतिमार्फत कथा प्रस्तुत गरिनु हो । यसमा सामा र चकेवा मुख्य पात्रका रूपमा रहन्छन् । सामा स्त्री पात्र र चकेवा पुरुष पात्र हुन् । यसबाहेक चुगला, ढोलिया, भरिया, सतभइया, खजंचिडैया, वनतितर, झाँझी कुकुर, भैया बटतकनी, मलिनियाँ र वृन्दावनजस्ता पात्र पनि बनाइन्छन् । यी पात्रले मिथिलाको सामाजिक, पारिवारिक तथा प्राकृतिक जीवनका विभिन्न पक्षलाई प्रतिनिधित्व गर्छन् । समाजमा चुक्ली गर्ने र सम्बन्ध बिगार्ने प्रवृत्तिलाई चुगलाले प्रतिनिधित्व गर्छ भने वृन्दावनले वन तथा प्रकृतिसँगको सम्बन्धलाई उजागर गर्छ ।

माटाका सबै आकृति एउटै डालामा राखेर महिलाहरूले गीत गाउँदै नचाउँछन् । गीतका शब्द र भावअनुसार पात्रहरूलाई चलायमान बनाइन्छ । कतिपय प्रसङ्गमा चुगलाको मुख आगोले पोल्ने र वृन्दावनमा आगो लगाउने अभिनयसमेत गरिन्छ । ‘वृन्दावनमे आगि लागल, केओ ने मिझाबे हे’ जस्ता गीतले लोकनाट्यलाई थप भावनात्मक बनाउँछन् । सामा–चकेवा माटाका मूर्तिको पूजा मात्र नभई गीत, अभिनय, संवाद र सामूहिक सहभागितामा आधारित मौलिक लोकनाट्य हो । महिलाहरू यसका कलाकार मात्र होइनन्, उनीहरू नै कथाका सूत्रधार र प्रस्तोता पनि हुन् ।

परम्परा र विधिविधान

सामा–चकेवा पर्वको सुरुआतसँगै माटाका विभिन्न पात्र बनाउने काम सुरु हुन्छ । चुगलाको आकृति बनाउन माटोको ढिस्कोसँगै सनपाट प्रयोग गरिन्छ, जसले पछि आगो लगाउन सहज बनाउँछ । त्यसैगरी वृन्दावन बनाउन सुकेको राडी घाँस बाँधेर आकृति तयार गरिन्छ । राति खाना खाइसकेपछि महिलाहरू तथा बालिकाहरू आ–आफ्नो घरबाट दियो बालिएको डाला लिएर निस्कन्छन् । उनीहरू समूहमा भेला भएर गीत गाउँदै सामा–चकेवालगायतका पात्रलाई दुबो टिपेर खान दिन्छन् । शीतलाई पानीको प्रतीक मानेर पात्रहरूलाई खुवाउने परम्परा पनि छ ।

त्यसपछि सबैले आफ्ना डाला गोलाकार रूपमा राखेर गीत गाउँदै वरिपरि घुम्छन् । गीतको क्रमसँगै विभिन्न पात्रको कथा प्रस्तुत गरिन्छ । चुगलाको मुख पोल्ने र वृन्दावनमा आगो लगाउने विधिले लोकनाट्यलाई थप रोचक बनाउँछ । यो क्रम पूर्णिमासम्म हरेक रात दोहोरिन्छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरका अवकाश प्राप्त शिक्षक तथा पुरोहित लालबाबु झाका अनुसार पर्वको अन्तिम दिन बिहानै माटाका आकृतिलाई पुनः रङरोगन गरी सुकाइन्छ । साँझपख दहीचिउरा खुवाएर सामा चकेवाबाट दाजुभाइको फार भराउने र दाजुभाइबाट सामा–चकेवाका आकृति फुटाउन लगाउने परम्परा छ । त्यसपछि दिदीबहिनीहरूले बाजागाजा र गीतनादसहित सामा–चकेवाका आकृतिलाई गाउँबाहिर खेत वा जलाशयमा लगेर विसर्जन गर्छन् । विसर्जनपछि दाजुभाइलाई दहीचिउरा तथा पकवान खुवाएर उनीहरूको दीर्घायु र समृद्धिको कामना गरिन्छ । यसरी पर्वको विधिवत् समापन हुन्छ । क्षीरेश्वरनाथ नगरपालिका–२ की ३२ वर्षीया अनिता यादवका अनुसार छठ पर्वको खरना विधि गरिने दिनदेखि नै सामा–चकेवाको तयारी सुरु हुन्छ । छठको तयारीसँगै महिलाहरूले सामा–चकेवाका लागि आवश्यक माटो, बाँसको डाला, रङ र अन्य सामग्रीको जोहो गर्छन् । उहाँका अनुसार सामा–चकेवा खेल्ने क्रममा गाउँका महिलाहरूबीच भेटघाट, सामूहिकता र आत्मीयता बढ्ने गरेको छ ।

पुराणसँग जोडिएको सामा–चकेवाको कथा

सामा–चकेवा पर्वको उत्पत्तिबारे विभिन्न धार्मिक तथा सांस्कृतिक मान्यता प्रचलित छन् । यसको चर्चा पद्मपुराण र स्कन्दपुराणमा समेत पाइने संस्कृतिविद्हरू बताउँछन् । मैथिली संस्कृतिका जानकार प्राध्यापक अरुण चौधरीका अनुसार प्रचलित पौराणिक कथाअनुसार सामा अर्थात् श्यामा भगवान् कृष्णकी छोरी थिइन् । उनका पति चारुवक्य थिए । उनीहरूबीचको प्रेम र सम्बन्धमा चुगलाले गलत सूचना दिएपछि विवाद उत्पन्न भएको थियो ।

कथाअनुसार चुगलाको कुरा सुनेर भगवान् कृष्णले आफ्नी छोरी श्यामालाई चराको रूप धारण गर्ने श्राप दिएका थिए । आफ्नी बहिनीको अवस्था थाहा पाएपछि उनका दाजु साम्बले बहिनीलाई पूर्ववत् अवस्थामा फर्काउन कठोर तपस्या गरे । उनको तपस्याबाट प्रसन्न भएर कार्तिक पूर्णिमाका दिन बहिनीले पुनः पुरानै स्वरूप प्राप्त गरेको धार्मिक मान्यता छ ।

पत्नी श्यामाको वियोग सहन नसकेर उनका पति चारुवक्य पनि चराको रूप धारण गरी उनीसँगै बस्न थालेको कथामा उल्लेख छ । उनीहरू बसेको वृन्दावनमा विरोधीहरूले आगो लगाएर दुःख दिने प्रयास गरे पनि दाजुको तपस्या र सहयोगबाट अन्ततः उनीहरू पुनः मानव रूपमा फर्किएको किंवदन्ती छ । यसरी सामा–चकेवाको मूल कथामा पति–पत्नीबीचको प्रेम, समर्पण र दाजुभाइको सहयोगको प्रसङ्ग जोडिएको पाइन्छ । कालान्तरमा मौखिक परम्परामार्फत कथाको स्वरूप परिवर्तन हुँदै जाँदा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता नै यस पर्वको मुख्य भावका रूपमा स्थापित भएको संस्कृतिविद्हरूको भनाइ छ ।

लोकगीतमा प्रतिबिम्बित मिथिलाको जनजीवन

समाजशास्त्री पुनम चौधरी भन्नुहुन्छ, “सामा–चकेवा पर्वका गीतमा मिथिलाको सामाजिक जीवन, पारिवारिक सम्बन्ध, प्रकृति, प्रेम र मानवीय संवेदना प्रतिबिम्बित हुन्छन् । यी गीत पुस्तौँदेखि मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका छन् ।’’ महिलाहरू घरबाट सामा–चकेवाका आकृति राखिएको डाला बोकेर निस्कँदा गाउने गीतले पनि यस पर्वको सांस्कृतिक महत्त्व उजागर गर्छ ।

‘डालाले बहार भेली, बहिनो से फलाँ बहिनो’ जस्ता गीतमा दिदीबहिनीले आफ्नो डाला र त्यसमा राखिएका आकृतिको महत्त्व प्रस्तुत गर्छन् । गीतको संवादमा भाइले डाला हराएको गुनासो गर्ने र त्यसमा के–कस्ता सामग्री सजाइएको थियो भनेर सोध्ने प्रसङ्गसमेत आउँछ । यसले लोकगीतमा पारिवारिक संवाद र नाटकीयताको सुन्दर संयोजन रहेको देखाउँछ ।

पर्वको अन्तिम दिन सामा–चकेवा विसर्जन गरेर फर्किने क्रममा गाइने ‘समदाउनी’ गीत विशेष भावुक मानिन्छ । यस गीतमार्फत सामालाई अर्को वर्ष पुनः आउने निमन्त्रणा दिँदै बिदाइ गरिन्छ । यसले पर्वको समापनलाई समेत भावनात्मक र सांस्कृतिक महत्त्व प्रदान गर्छ । सामा–चकेवाका गीतमा जनकपुर र मिथिलाको सामाजिक तथा सांस्कृतिक जीवनका प्रसङ्ग पनि समेटिएका छन् । यसले मिथिलाको ऐतिहासिक पहिचान, स्थानीय जीवनशैली र लोकसंस्कृतिको समृद्धिलाई उजागर गर्छ ।

नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने सांस्कृतिक सम्पदा

मिथिलाञ्चलमा सामा–चकेवा पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई आत्मीय बनाउनुका साथै सामूहिकता, सहकार्य र सांस्कृतिक एकतालाई पनि बलियो बनाउँदै आएको छ । विशेषगरी महिलाहरूको सक्रिय सहभागितामा मनाइने यो पर्वले उनीहरूलाई आफ्नो कला, सिर्जनशीलता र सांस्कृतिक पहिचान प्रस्तुत गर्ने अवसर प्रदान गर्छ ।

क्षीरेश्वरनाथ नगरपालिका–२ की अनिता यादवका अनुसार सामा–चकेवा पर्वमा गाउँका महिला तथा किशोरीहरू एकै ठाउँमा भेला भएर गीत गाउने, माटाका आकृति बनाउने र परम्परागत विधि पूरा गर्ने गर्छन् । यसले नयाँ पुस्तालाई आफ्नो भाषा, लोकगीत र संस्कृतिबारे सिक्ने अवसरसमेत प्रदान गरेको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरी, बारा र पर्सालगायत मधेसका जिल्लामा विशेष उत्साहका साथ मनाइने सामा–चकेवा सीमावर्ती भारतीय क्षेत्र बिहारका सीतामढी, मधुबनी, दरभङ्गा र मुजफ्फरपुरलगायत स्थानमा पनि लोकप्रिय छ ।

माटाका आकृति, बाँसको डाला, दियो, लोकगीत र सामूहिक नृत्यको माध्यमबाट प्रस्तुत हुने सामा–चकेवा मिथिलाको अमूर्त सांस्कृतिक सम्पदाको महत्वपूर्ण उदाहरण हो । यसले केवल दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धको कथा मात्र सुनाउँदैन, समाजमा प्रेम, सद्भाव, सहअस्तित्व र पारिवारिक एकताको सन्देशसमेत प्रवाह गर्छ ।

आधुनिकताको प्रभावसँगै परम्परागत लोकगीत र सांस्कृतिक अभ्यासहरू ओझेलमा पर्न सक्ने अवस्थामा सामा–चकेवाजस्ता पर्वको संरक्षण र प्रर्वद्धन आवश्यक देखिन्छ । विद्यालय, स्थानीय तह, सांस्कृतिक संस्था र नयाँ पुस्ताको सहभागितामार्फत यसको मौलिकता जोगाउनसके मिथिलाको पहिचान बोकेको यो विशिष्ट लोकनाट्य आगामी पुस्तासम्म जीवन्त रहन सक्ने उद्देश्य बोकेर पछिल्लो केही वर्षदेखि मैथिली विकास कोषले सामाचकेवा महोत्सव आयोजना गर्दै आएको छ ।

यस वर्ष पनि मङ्सिर ५ गते देखि जानकी मन्दिर प्राङ्गणमा सामाचकेवा प्रतियोगिताको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभएको छ । कोषका अध्यक्ष चौधरीले सामा–चकेवा मिथिला सांस्कृतिमा भाइबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउने सांस्कृतिक रहेकोले यसलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आफूहरूले महोत्सव आयोजना गर्दै आएको बताउनुभयो ।

  • धनुषा
  • पर्सा
  • बारा
  • महोत्तरी
  • सप्तरी
  • सर्लाही
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

  • Post Thumbnail

    कार्तिक शुक्ल षष्ठीः छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

  • Post Thumbnail

    छठ पर्वको दोस्रो दिन आज खरना विधि गरी मनाइँदै

  • Post Thumbnail

    छठको दोस्रो दिन आज खरना गरिँदै, गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    Post Thumbnail

    एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

    Post Thumbnail

    छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution