
काठमाडौँ, २५ कात्तिकः उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित सत्य, अहिंसा, समानता, शिक्षा, श्रम, मितव्ययिता र सदाचारका सिद्धान्तले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै किराँत धर्म, दर्शन, संस्कृति तथा सामाजिक सुधारको एक महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा परिचित रहेको बताउनुभएको छ ।
“दाइजो प्रथा, फजुल खर्च, अन्धविश्वास, विभेद तथा सामाजिक विकृतिका विरुद्ध उहाँले चलाउनुभएको चेतनामूलक अभियानले नेपाली समाजमा सुधार, आत्मसम्मान र नैतिक जीवनको संस्कार विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको थियो । समाजलाई सरल, सभ्य र अनुशासित बनाउन उहाँका विचारहरू आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन्”, उपराष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।
उहाँले नेपाली समाजका युगद्रष्टा व्यक्तित्व महागुरु फाल्गुनन्दले धर्मलाई आस्थाको विषयमा मात्र सीमित नराखी समाज सुधार, नैतिक अनुशासन, मानवता र लोककल्याणसँग जोड्नुभएको भनी स्मरण गर्नुभएको छ ।
फाल्गुनन्दले आफ्नो मौलिक सांस्कृतिक पहिचानको संरक्षण गरी अन्य समुदायप्रति सम्मान, सहअस्तित्व र सद्भावको सन्देश दिनुभएको उल्लेख गर्दै उपराष्ट्रपतिले उहाँका विचारले विविधताभित्रको एकता, पारस्परिक सम्मान र राष्ट्रिय सहकार्यको भावनालाई सुदृढ बनाउन प्रेरित गर्ने विश्वासव्यक्त गर्नुभएको छ ।
“आजको परिवर्तनशील विश्वमा आफ्नो भाषा, संस्कृति, सभ्यता र मौलिक परम्पराको संरक्षण गर्दै आधुनिकता र प्रगतिलाई आत्मसात् गर्नु हाम्रो साझा जिम्मेवारी हो । फाल्गुनन्द जयन्तीले युवा पुस्तालाई नैतिक चरित्र निर्माण, सामाजिक उत्तरदायित्व, सकारात्मक सोच, सामुदायिक नेतृत्व र राष्ट्रसेवाको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गरोस्”, उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।
उपराष्ट्रपतिले फाल्गुनन्दको सत्य, सेवा र सदाचारको मार्गले सबैलाई मानव मर्यादा, सामाजिक न्याय तथा राष्ट्रिय कर्तव्यप्रति थप प्रतिबद्ध बन्न प्रेरित गरोस् भनी कामना गर्नुभएको छ ।
उहाँले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा लोकतान्त्रिक मूल्यप्रतिको हाम्रो प्रतिबद्धता अझ सुदृढ हुँदै समुन्नत, समावेशी र समृद्ध नेपालको निर्माणमा सबैलाई प्रेरणा र ऊर्जा प्राप्त होस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |