
म्याग्दी, २३ कात्तिकः म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले गाई पाल्न छाडेको पाँच वर्ष भयो । करिब तीन दशकसम्म गाई पालेर लेकबेँसी गर्नुभएका पुनले अहिले गाईको सट्टा भैँसी पाल्न थाल्नुभएको छ ।
“थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो हुन्छ”, विगतमा गाईपालन गर्दाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “खनजोत गर्ने मिनीटिलर हलो भित्रिएपछि गोरुको पनि महत्व घट्यो, गाई पाल्ने चलन नै हरायो ।”
पुनको अनुभवले धवलागिरि क्षेत्रमा स्थानीय जातका गाईगोरु पाल्ने परम्परा कसरी घट्दै गएको छ भन्ने देखाउँछ । कुनै समय घरघरमा गाईगोरु पाल्ने चलन रहेको यस क्षेत्रमा अहिले स्थानीय जातका गाईगोरु भेट्टाउन मुस्किल हुनथालेको छ ।
धवलागिरि गाउँपालिका–७ ताकमका मनबहादुर चपाईँलाई धार्मिक तथा सांस्कृतिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत जुटाउन समस्या हुन थालेको छ । पूजाआजा र धार्मिक कार्यमा गाईको दूध तथा गहुँत आवश्यक पर्ने भएकाले पहिले नै गाईपालकलाई खबर गर्नुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ ।
“हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत पाउन पनि मुस्किल छ”, उहाँले भन्नुभयो, “गाई देखिन छाडे, गोरु भेटिँदैनन् ।” धवलागिरि गाउँपालिका–६ को साविक मराङ र वडा नं ७ को साविक ताकम गाविस क्षेत्रमा स्थानीय जातका गाईगोरु घट्दै गएका छन् । गुर्जा, लुलाङ, मुना, मुदी र मल्कवाङमा घुम्ती गोठको सङ्ख्या घटे पनि गाईगोरु पाल्ने परम्परा पूर्ण रूपमा हटिसकेको छैन ।
धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाईगोरु आधुनिक कृषि प्रविधि, व्यावसायिक पशुपालन र जनशक्ति अभावका कारण सङ्कटमा पर्न थालेका हुन् । उत्पादन लागत घटाउने र आम्दानी बढाउने उद्देश्यले किसान उन्नत तथा वर्णशङ्कर जातका गाईभैँसीपालनतर्फ आकर्षित भएपछि रैथाने जातका गाईगोरुको महत्व घट्दै गएको छ ।
बढी दूध दिने उन्नत जातका गाईभैँसी पाल्ने क्रम बढ्नु र खेतबारी खनजोत गर्न ट्याक्टर तथा मिनीटिलर हलोको प्रयोग हुन थालेपछि स्थानीय जातका गाईगोरु विस्थापित हुँदै गएको धवलागिरि गाउँपालिका–७ का इन्द्रलाल पौडेल बताउनुहुन्छ । “मिनीटिलर र ट्याक्टर भित्रिएपछि स्थानीय जातका गाईको सङ्ख्या घटेको छ”, उहाँले भन्नुभयो, “सरकारले पनि बढी दूध दिने गाईभैँसीपालनमा जोड दिएकाले उन्नत र वर्णशङ्कर जातका पशुपालन बढेको छ ।”
कुनै समय धवलागिरि गाउँपालिका हलगोरुको स्रोत केन्द्रका रूपमा परिचित थियो । खेतबारी खनजोत गर्ने आधुनिक उपकरण नहुँदा बेनी नगरपालिका, पर्वत, स्याङ्जा र कास्कीसम्मका किसान हलगोरु खरिद गर्न यहाँ आउने गर्थे । गोरु बिक्री गरेर किसानले आम्दानी गर्दै आएका थिए । अहिले भने गाईगोरुको माग र बिक्री दुवै घटेको धवलागिरि गाउँपालिका–१ गुर्जाका तमप्रसाद छन्त्याल बताउनुहुन्छ ।
गाईगोरु घटे
धवलागिरि गाउँपालिकाको पशुपन्छीसम्बन्धी तथ्याङकले पनि स्थानीय जातका गाईगोरु घट्दै गएको अवस्थालाई पुष्टि गर्छ । आठ वर्षको अवधिमा गाउँपालिकामा गाईगोरुको सङ्ख्या दुई हजार ३४५ ले घटेको छ ।
विसं २०७४ मा गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार धवलागिरिमा छ हजार ७५६ गाईगोरु रहेका थिए । हाल गाउँपालिकामा चार हजार ४११ गाई रहेको पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालले बताउनुभयो । उहाँका अनुसार नयाँपुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित हुनु र पशुपालनमा मिहिनेत गर्नुपर्ने भएकाले स्थानीय जातका गाईगोरु तथा घुम्ती गोठप्रतिको आकर्षण घटेको हो ।
“पशुपालनमा जीविकोपार्जन, स्वरोजगार र आयआर्जनको सम्भावना भए पनि धेरै मिहिनेत गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “नयाँपुस्ताको आकर्षण घट्दै जाँदा घुम्ती गोठसँगै स्थानीय जातका गाईगोरु पनि सङ्कटमा परेका छन् ।”
जैविक सम्पत्तिका रूपमा स्थानीय गाई
कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको अभिलेखअनुसार नेपालमा पाइने आठ प्रजातिका गाईमध्ये म्याग्दीलगायत पहाडी जिल्लामा पालिने गाईलाई पहाडी जातका रूपमा चिनिन्छ । यी गाई भुटान, सिक्किम र दार्जिलिङबाट नेपाल भित्रिएको उल्लेख छ ।
सामान्यतया २०० देखि ३०० किलोग्रामसम्म तौल हुने पहाडी गाईको रङ कालो, रातो, फुस्रो र टाटेपाटे हुन्छ । यस्ता गाई स्थानीय हावापानी र वातावरणमा अनुकूलित मानिने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका योजना शाखा प्रमुख सुभाष रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार गाईको दूधमा पाइने क्यारोटिन तत्व मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिन्छ । “गाईको दूध सेवन गर्दा स्वास्थ्यलाई विभिन्न किसिमका फाइदा पुग्ने र रोग लाग्नबाट बचाउन सहयोग गर्ने विषय विभिन्न वैज्ञानिक अध्ययनमा उल्लेख छन्”, रेग्मीले भन्नुभयो, “गाईबाट प्राप्त हुने दूध, दही, घ्यू, गोबर र गहुँतको धार्मिक महत्वसँगै आयुर्वेदमा पनि उपयोग हुँदै आएको छ ।”
धार्मिक र सांस्कृतिक महत्व
नेपालको संविधानको धारा ९ को उपधारा (३) मा गाईलाई राष्ट्रिय जनावरका रूपमा उल्लेख गरिएको छ । गाईलाई हिन्दू धर्मावलम्बीले धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडेर हेर्ने गरेका छन् । जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक संस्कारमा गाईको महत्व रहने गरेको छ ।
बेनी नगरपालिका–१ स्थित श्रीलक्ष्मीहरि मन्दिरका महन्थ हिमालय बाबाले गाईलाई धर्म र संस्कृतिसँग मात्र जोडेर नभई जैविक सम्पत्तिका रूपमा पनि संरक्षण गर्नुपर्ने बताउनुभयो । “गाईलाई धर्म र संस्कृतिसँग मात्र जोडेर बुझ्नु हुँदैन”, उहाँले भन्नुभयो, “जैविक विशेषता बोकेका वैदिक गाईको नश्ल नेपालको जैविक सम्पत्ति हो । यसलाई बचाउन राज्य र समाजले विशेष ध्यान दिनुपर्छ ।”
उहाँका अनुसार स्थानीय जातका गाईबाट प्राप्त हुने गोबर र गहुँत खेतीपातीमा प्रयोग हुनुका साथै परम्परागत आयुर्वेदिक अभ्यासमा पनि उपयोग हुँदै आएको छ । हिन्दू धर्मावलम्बीले गाईलाई लक्ष्मीका रूपमा पूजा गर्ने र गाईको संरक्षणलाई पुण्य कार्यका रूपमा लिने परम्परा छ । धार्मिक संस्कारमा गाईको दूध, दही, घ्यू, गोबर र गहुँतको प्रयोग हुने भएकाले स्थानीय जातका गाईको संरक्षण धार्मिक तथा सांस्कृतिक निरन्तरतासँग पनि जोडिएको छ ।
स्थानीय हावापानीमा अनुकूलित रैथाने गाईगोरुको संरक्षणका लागि प्रजनन व्यवस्थापन, किसानलाई प्रोत्साहन तथा स्थानीय जातको महत्वबारे जनचेतना अभिवृद्धि गर्न थालिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । धवलागिरिको पहिचानसँग जोडिएको स्थानीय गाईगोरुपालनलाई व्यावसायिक र व्यवस्थित बनाएर जीविकोपार्जन सुधार तथा आयआर्जन वृद्धिको आधार बनाउन सकिने उहाँको भनाइ छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |