
झापा, २२ कात्तिकः मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगले मरेका छन् । अब उहाँको ५० घारमा मात्र मौरी बाँकी छन् ।
अठार वर्षअघि रु एक हजारको लगानीमा दुई घार मौरीबाट व्यावसायिक मौरीपालनमा होमिनुभएकी उहाँको समूहसँग कुनै बेला ९०० घारसम्म मौरी थिए । वार्षिक १० हजार केजी शुद्ध मह उत्पादन गर्दै आएको उहाँले स्मरण गर्नुभयो ।
मौरीपालनकै कारण राष्ट्रपति पुरस्कारसमेत पाउनुभएकी उहाँ रोगको सङ्क्रमण र बजारको समस्या चुनौती बनेर खडा भएपछि अब मौरीपालनलाई निरन्तरता दिन कठिन भइरहेको बताउनुहुन्छ । “रोग सङ्क्रमणले ठूलो क्षति भयो”, उहाँ भन्नुहुन्छ, “ठूलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भइसक्यो । किसानलाई प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने वातावरण नै छैन ।”
मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्ला दिनमा रोग सङ्क्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको चुनौतीले किसान निरुत्साहित हुनथालेका छन् ।
कनकाईका भुवन अधिकारीले १०० घार मौरीपालनबाट वार्षिक रु २० लाख आम्दानी गर्दै आएको बताउनुभयो । कनकाई मौरीपालन उद्योगका सञ्चालक उहाँले व्यावसायिक मौरीपालनले लगानीअनुसारको प्रतिफल दिन नसकेको गुनासो सुनाउनुभयो ।
चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उहाँको भनाइ छ । उहाँले मौरीपालन व्यवसायलाई जगेर्ना गर्न स्थानीय तह र प्रदेश सरकारले किसानमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
शिवसताक्षी नगरपालिकामा अहिले पनि किसानले मौरीका दुई हजारभन्दा बढी घारबाट मह उत्पादन गरिरहेको कृषि शाखा प्रमुख रविन भट्टराई बताउनुहुन्छ । मौरीपालनप्रति किसानको आकर्षण घट्दै जानुमा रोग सङ्क्रमण, विषादीको प्रयोग र बजारको समस्या नै प्रमुख कारण रहेको छ ।
वार्षिक दुई हजार केजीससम्म मह उत्पादन गर्दै आउनुभएको शिवसताक्षीका किसान नन्दकुमार दङ्गालले खेतबारीमा जथाभावी विषादीको प्रयोगले मौरीपालन व्यवसायमा ठूलो सङ्कट निम्तिएको बताउनुभयो । किसानले भोगिरहेका समस्याको समाधान गर्दै महको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग पुर्याउनसके मौरीपालन व्यवसायलाई थप व्यवस्थित गर्न सकिने शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्निप्रसाद दुलालको धारणा छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |