
काठमाडौँ, २१ कात्तिकः तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जीउधनको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा प्रहरी जनशक्ति परिचालन तथा निगरानी बढाइएको हो । बजार क्षेत्र, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका र बढी भीडभाड हुने स्थानलाई विशेष प्राथमिकतामा राखिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले चाडपर्वका समयमा चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्य पदार्थमा मिसावट र आगलागीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको बताउनुभयो ।
उहाँका अनुसार यस्ता गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, आकस्मिक जाँच तथा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुर प्रयोग गरिनेछ । जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै तत्काल प्रतिकार्यका लागि द्रुत परिचालन टोली र विपद् व्यवस्थापनका जनशक्तिलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकता दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ । त्यस्तै, अन्तरराष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।
लामो दूरीका सवारीसाधन सञ्चालन गर्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्थासम्बन्धी कागजात जाँच गर्ने व्यवस्था मिलाइएको छ । लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
सीमा नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षमार्फत स्वदेश फर्किने नागरिकलाई सम्भावित ठगी, लुटपाट तथा अन्य दुव्र्यवहारबाट जोगाउन आवश्यक सहयोग उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साइबर अपराधमा पक्राउ सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्नुका साथै अश्लील तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय माध्यमबाट महिलालाई दुव्र्यवहार तथा चरित्र हत्या गरेको अभियोगमा इलाम र सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इलामका विकल्प राई र सिन्धुपाल्चोकका सुजन पाण्डे छन् । ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार राईले प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोप छ ।
त्यस्तै, पाण्डेले सामाजिक सञ्जाल एक्समार्फत पीडित महिलाका अश्लील भिडियो तथा तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पीडितले दिएको निवेदनका आधारमा ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषण गर्दा दुवै जना संलग्न रहेको खुलेपछि पक्राउ गरिएको प्रवक्ता अवस्थीले जानकारी दिनुभयो । प्रहरीले राईलाई काठमाडौँको ठमेलस्थित पर्यटन मार्गबाट र पाण्डेलाई तारकेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन र पाण्डेलाई चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |