
कर्णाली, २१ कात्तिकः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले सामाजिक परीक्षण सुशासनको महत्वपूर्ण कडी भएको बताउनुभएको छ ।
सेभ द चिल्ड्रेनद्वारा सुर्खेत वीरेन्द्रनगरमा शुक्रबार आयोजित ‘सामाजिक परीक्षण’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मल्लले पारदर्शिता, जवाफदेहिता, जनसहभागिता र कानुनी शासनको परिपालना गर्दै सामाजिक परीक्षण गर्नाले सुशासनमा सहयोग पुग्ने बताउनुभयो ।
मन्त्री मल्लले भन्नुभयो, “विकास साझेदार निकायमा सेभ द चिल्ड्रेनको भूमिका कर्णालीमा महत्वपूर्ण देखिन्छ । सरकारले लिएको नीति, योजना तथा कार्यक्रमलाई परिणाममुखी र उपलब्धिमूलक बनाउन एक्लो प्रयासबाट हुन सक्दैन । यसका लागि साझेदार निकायको सामुहिक उद्देश्य, समन्वय र सहकार्यबाट मात्र सम्भव हुन्छ ।” सरकारको नीति, बजेट तथा कार्यक्रम तर्जुमाको अवधिमा आवश्यक सल्लाह दिन सो संस्थालाई उहाँले आग्रह गर्नुभयो ।
सेभ द चिल्ड्रेन सुर्खेतका प्रमुख रत्नराज ओझाले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका १९ जिल्लामा तीन तहका सरकारसँग संस्थाले काम गर्दै आएको बताउनुभयो । उहाँले शिक्षा, बाल संरक्षण, बाल अधिकार, स्वास्थ्य तथा पोषण, जीविकोपार्जन र जलवायु उत्थानशीलताका क्षेत्रमा काम गर्दै आएको जनाउनुभयो ।
सामाजिक परीक्षण कार्यक्रमका सहभागीले सेभ द चिल्ड्रेनको शिक्षा, बाल संरक्षण तथा अधिकार, जीविकोपार्जनका कार्यक्रमबाट पछिल्ला दिनमा बालविवाह रोक्न, सचेतनाका कार्यक्रम विस्तार गर्न र आयआर्जनमा स्वास्थ्य तथा पोषणका कार्यक्रमबाट समुदायले लाभ लिएको बताउनुभयो ।
कार्यक्रममा भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख चन्द्रप्रकाश घर्ती, छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापा, शुभकालिका गाउँपालिका कालीकोटका अध्यक्ष गोविन्द आचार्य, भगवतीमाई गाउँपालिका दैलेखका अध्यक्ष छवि सुवेदी र बेलाडाँडी गाउँपालिका कञ्चनपुरका अध्यक्ष हरिश्चन्द्र रानाले सेभ द चिल्ड्रेनले सरकारको सहयोगीका रूपमा समाजको संवेदनशील क्षेत्रमा काम गर्दै आएको बताएका थिए ।
कार्यक्रममा स्थानीय तहका प्रमुख, शिक्षा, स्वास्थ्य कार्यालयका प्रमुख, महिला तथा बालबालिका, उद्योग बाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, लैङ्गिक तथा अल्पसङ्ख्यक क्षेत्रका प्रतिनिधि र विकास साझेदारको सहभागिता रहेको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |