
बागमती, २० कात्तिकः हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले साइकल यात्राको माध्यमद्वारा मकवानपुरगढी गाउँपालिका– ८ स्थित पर्यटकीय गन्तव्य बुढीचौरको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गर्न लागेको छ ।
पछिल्ला वर्षमा प्राकृतिक, ऐतिहासिक, धार्मिक एवं साहसिक पर्यटनका दृष्टिले आन्तरिक पर्यटकको रोजाइमा परिहेको बुढीचौरको पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने उद्देश्यसहित आगामी मङ्सिर ५ गते शनिबारदेखि प्रवर्द्धनात्मक साइकल यात्रा गर्न लागिएको हो ।
दोस्रो हिमालय पर्यटन प्रवर्द्धन राइड २०८३ नाम दिइएको उक्त कार्यक्रमअन्तर्गत मकवानपुर र बारा जिल्लाका करिब १५० जना साइकल यात्री सहभागी बन्ने सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरबाट सुरु हुने साइकल यात्रा कान्ति लोकपथ, चौहडा, शिखर कटेरी, गैरी भञ्ज्याङ, कुर्ले, सुकौरा हुँँदै बुढीचौर पुग्ने छ ।
पर्यटनको प्रचुर सम्भावना बोकेको बुढीचौर क्षेत्रमा पर्यटन प्रवद्र्धनको लागि प्रचारप्रसार र प्रवर्द्धन नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउँदै अध्यक्ष थापाले पछिल्ला समयमा प्रकृतिप्रेमीसँगै साहसिक पर्यटनमा रुचि राख्नेहरूको रोजाइमा यो गन्तव्य पर्न लागेको जानकारी दिनुभयो ।
हेटौँडा बजारको व्यस्तताबाट मुक्त हुँदै करिब २५ किलोमिटरको दूरीमा रहेको यस गन्तव्यबाट देखिने मनोरम पहाडी भूदृश्यले पर्यटकलाई निकै लोभ्याउने गरेको उहाँले बताउनुभयो ।
यहाँस्थित ऋषेश्वर गुफा सहितका धार्मिक महत्वका स्थलले पनि यहाँको महिमा र गरिमा अझै बढाएको अध्यक्ष थापाले बताउनुभयो । स्वास्थ्य, पर्यटन र पर्यावरणमा जोड दिँदै आएको सोसाइटीले साइक्लिङका माध्यमबाट मकवानपुरसहित देशका विभिन्न स्थानका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिरहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |