
काठमाडौँ, १९ कात्तिकः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
बेलायतको लण्डनमा वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल र संयुक्त राष्ट्रसङ्घीय पर्यटनद्वारा बुधबार आयोजित २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा मन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको जोखिम न्यूनीकरण गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण आवश्यक भएको बताउनुभयो ।
मन्त्री पौडेलले भोटेकोशी बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउनसक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।
जलवायु परिवर्तनका असरले पर्यटकीय गन्तव्य, पूर्वाधार र स्थानीय समुदायको जीविकोपार्जनमा चुनौती थपिरहेको उहाँको भनाइ थियो ।
पर्यटनमन्त्री पौडेलले पर्यटन क्षेत्रलाई विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न समुदाय, सरकार र सुदृढ संस्थाको सहभागितामा आधारित प्रभावकारी सङ्कट व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
समुदायलाई विपद् व्यवस्थापन र पर्यटन विकासको केन्द्रमा राख्दै सरकारी सहयोग तथा संस्थागत क्षमता अभिवृद्धि गर्नसके मात्रै पर्यटन क्षेत्रलाई दिगो र उत्थानशील बनाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।
‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विश्वका विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।
सम्मेलनमा सहभागी मन्त्री तथा अन्तरराष्ट्रिय पर्यटन क्षेत्रका प्रतिनिधिले विश्वव्यापी अनिश्चितता र बदलिँदो परिस्थितिका बीच पर्यटन क्षेत्रको जोखिम सामना गर्ने क्षमता अभिवृद्धि, सार्वजनिक–निजी सहकार्य र दिगो पर्यटन विकासका विषयमा अनुभव तथा धारणा आदानप्रदान गर्नुभएको थियो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |